
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुक्रवार एकै दिन ३ आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । गाउँपालिकाको वडा नंं. १ को बनखेत, वडा नं। ४ को देवपुरा र वडा नं। ६ को बद्धौरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको हो । गाउँपालिकाले ‘विजयनगरको शान स्वास्थ्यमा सबै जनताको समान पहँुच पु¥याउने अभियान’ भन्ने मूलनाराका साथ स्वास्थ्य केन्द्रलाई विस्तार गरिएको छ ।
यहाँका नागरिकलाई सरल र सहज ढङ्गबाट स्वास्थ्य सेवा प्रदान गर्न सरकारले लिएको नीति अनुसार प्रत्येक वडामा आभारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अब सबै स्वास्थ्य केन्द्रहरुबाट छिटै जनताहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकिने बताउनुभएको छ । वडाहरुमा स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रबाट बृद्धबृद्धा, गर्भवती, सुत्केरी महिला, बालबालिकालाई सहज तरिकाले स्वास्थ्य सेवा पाउने बताउनुभयो । अब वडामा सजिलै सेवा प्रदान गर्न सकिने वातावरणको सिर्जना भएको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गर्भवती महिलालाई विभिन्न किसिमका खोप लगाउन सजिलो हुने बताउनुभयो । स्वास्थ्य सेवा केन्द्रबाट प्राप्त हुने सेवाले जनतालाई गुणस्तरीय र प्रभावकारी हुने बताउनुभयो । सामान्य रुखा, खोकी, झाडापखाला, ज्वरो, आउँदा स्वास्थ्य चौकी धाउनु पर्ने बाध्यता हट्ने बताउनुभयो । अब प्रत्यक्ष आफ्नै वडाबाट सेवा पाउने बताउनुभयो ।
स्वास्थ्य सेवा केन्द्र सञ्चालनका लागि जग्गा प्रदान गर्ने जग्गादाता कनिकराम चाई, गोपाल पंगेनी, इन्द्र कुमारी थापा र रणवीर थापालाई दोसल्ला ओढाई सम्मानसमेत गरिएको छ । यहाँका नागरिक सेवा सुविधाका लागि जग्गादान गरी अमूल्य सहयोग गरेको बताउँदै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धन्यवादसमेत दिनुभएको थियो ।








