
काठमाडौं : सरकारसँग तीन बुँदे सहमति भएसँगै नेत्रविक्रम चन्द विप्लव आज सार्वजनिक हुँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको दुई वर्ष पुगेपछि बल्ल सहमति भएको हो।
बिहीवार तीन बुँदे सहमति भएसँगै प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लव आज एकै मञ्चमा देखिने भएका छन्। ओली र विप्लवले राष्ट्रिय सभागृहमा दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन्।
उक्त कार्यक्रममा सरकार र विप्लव समूहबीच भएको सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने भएको छ।
बिहीवारको सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्। विप्लवले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने र सरकारका तर्फबाट विप्लव नेकपामाथि लागेको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएका छन्।
सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।








