गृहपृष्ठ खबर लुम्बिनीका सांसद न्यौपाने भन्छन्- सांसद पद गए पनि ओली नेतृत्वको पार्टी छोड्दिनँ

लुम्बिनीका सांसद न्यौपाने भन्छन्- सांसद पद गए पनि ओली नेतृत्वको पार्टी छोड्दिनँ

बुटवल : लुम्बिनी प्रदेश सभाका सांसद दधिराम न्यौपानेले माओवादी केन्द्रमा नफर्कने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि उनी केपी शर्मा ओली समूहमा लागेका थिए ।

माओवादी केन्द्रबाट निर्वाचित सांसद न्यौपानेले सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिए पनि पार्टीमा नफर्कने बताएका छन् । उनले पार्टीका अध्यक्ष प्रचण्डको अस्थिर राजनीतिका कारण आफूले उनको साथ छाडेको टिप्पणी गरे ।

‘प्रचण्डले कहिले कांग्रेससंग मिल्ने भन्नुहुन्छ, कहिले मधेसवादीसंग, कहिले केपी ओलीलाई महान् भन्नुहुन्छ’–न्यौपानेले भने, ‘उहाँको अस्थिरता र पुराना नेतालाई अवसर नदिने प्रवृत्तिले उहाँसँग बस्न सकिन ।’

उनले शान्ति प्रक्रियापछि पार्टी प्रवेश गरेकालाई मन्त्री बनाएको तर २०३५ सालदेखि पार्टीमा लागेको आफूलाई कहिल्यै अवसर नदिएको गुनासो गरे । गएको चुनावमा पनि एमालेको आर्थिक, नैतिक र भौतिक सहयोगका कारण आफूले चुनाव जितेको हुँदा आफूलाई एमाले नै ठीक लागेको न्यौपानेले बताए ।

न्यौपाने एमाले–माओवादी केन्द्रको गठबन्धनबाट रुपन्देही १ (१) बाट निर्वाचित सांसद हुन् । उनी प्रदेश सभाको अर्थ, उद्योग तथा विकास समितिका सभापति छन् । उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रुपन्देही इन्चार्ज थिए ।

लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका २० जना सांसद छन् । न्यौपाने पार्टीमा नफर्किएको अवस्थामा माओवादी सांसद १९ जना मात्र हुनेछन् ।

सम्बन्धित् समाचार