गृहपृष्ठ खबर ठडियो २२ तले धरहरा : गजुरमा सुनको जलप लगाउन बाँकी

ठडियो २२ तले धरहरा : गजुरमा सुनको जलप लगाउन बाँकी

प्रकाशित मिति:

काठमाडौं : लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ६ वर्षअघि भूकम्पका कारण पूर्णरूपमा क्षति भएको धरहरा २२ तला निर्माण सम्पन्न भइसकेको छ । धरहरामा राखिने गजुरको काम पनि सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।

धरहराको गजुरमा सुनको जलप लगाउन भने बाँकी छ । गजुरमा सुनको जलप लगाउन प्राधिकरणले एक सय २६ तोला सुन धरहरा निर्माण कम्पनीलाई दिने तयारी गरेको छ । प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार प्राधिकरणबाट सुन उपलब्ध गराएको सात दिनभित्र जलप लगाउने काम सम्पन्न हुनेछ । ‘जलप लगाएको गजुर राखेपछि धरहरा निर्माण सम्पन्न हुनेछ,’ उनले भने ।

भूकम्पका कारण २२ टुक्रामा परिणत भएको गजुरलाई पहिलाकै जस्तो बनाउन गत माघदेखि काम थालिएको थियो । ‘हामीले महत्वपूर्ण काम सम्पन्न गरिसकेका छौँ,’ प्राधिकरणका विज्ञ सदस्य मानन्धरले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएअनुसार दोस्रो साता धरहरा उद्घाटन गर्ने गरी काम गरिरहेका छौँ ।’प्राधिकरणका अनुसार लिफ्ट राख्ने काम पनि सकिएको छ । भर्‍याङ, विद्युत्, रङ लगाउने काम बाँकी छ । ‘हाल गजुरमा सुनको जलप लगाउन बाँकी छ । प्राधिकरणले सुन उपलब्ध गराएको हप्ता दिनमा गजुरमा जलप लगाएर सकिन्छ । भर्‍याङ, विद्युत्, रङको कामबाहेक अरु महत्वपूर्ण काम सकिएको छ,’ मानन्धरले भने ।

सम्बन्धित् समाचार