गृहपृष्ठ खबर २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह

२५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।

मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषदसमक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उनले बताए।

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए। त्यसका लागि भीडभाड नगर्ने, दूरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरून्त जाँच गराउनुपर्ने बताए।

यस्तै, भीडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएरमात्रै सञ्चालन गर्न दिनुपर्ने पनि उनले बताए।

उनले भने, ‘कहीँ न कहीँ कोरोना सर्ने जुन साइकल छ, ट्रासमिसन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ। त्यो ब्रेक गर्नु भनेको भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने, र लक्षण देखियो भने तुरून्त जाँच गराएर उपचार पनि गर्ने, त्यो गर्नका लागि हामीले भीडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड फलो गरेर गर्नचाहिँ मिल्छ तर त्यो भनेको के हो भने भीडभाड नगरेर दूरी कायम नगरिकन अब कुनै पनि काम गर्न मिल्दैन भनेको हो।’

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शङ्कास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तीव्रता दिएको पनि प्रवक्ता गौतमले बताए।

उनले भने,‘सीमा नाकामा र अन्त शंकास्पद देखिएका ठाउँमा हामी एन्टिजेन टेस्ट गर्‍यो भने छिटो व्यवस्थापन गर्न सकिन्छ। जो पोजेटिभ आयो उसलाई आइसोलेसनमा पठाउने, लक्षण छ भने अस्पतालमा र लक्षण छैन भने घरमा, सम्भव भएन भने आइसोलेसन सेन्टरमा पठाउने र जो नेगेटिभ आयो उसलाई घरमै क्वारेन्टाइनमा बस्नु भनेर पठाउने, पाँच वटा मास्क पनि दिएर पठाउने, १० वटा मास्क दिएर पठाउनु भनेका थियौं हामीले कतिपय ठाउँमा मास्कको पनि सप्लाई हुँदैहोला, पाँच वटा दिएर पठाएको भन्ने रिपोर्ट आएको छ। त्यसरी पठाउने एउटा सीमाको कुरा यो भयो।’

पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षण देखा परेको पनि प्रवक्ता गौतमले बताए। त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि उनले बताए।

सम्बन्धित् समाचार