एजेन्सी (क्यारोलिना) : अमेरिकाको दक्षिण क्यारोलिनामा एक बन्दुकधारीको गोली प्रहारबाट एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार बुधबार साँझ भएको सो आक्रमणमा एकै परिवारका ४ सहित १ कामदारको मृत्यु भएको हो।
मृत्यु हुनेमा ७० वर्षीय रोबर्ट लेस्ली, उनका ६९ वर्षीय श्रीमती बार्बरा लेस्ली, ९ वर्षीय नाति र ५ वर्षीय नातिनी रहेका छन्। त्यस्तै उनको घरमा काम गर्ने ३८ वर्षीय जेम्स लेविसको गोली प्रहारबाट मृत्यु भएको हो।
गोली प्रहार गर्ने पूर्व फुटबल खेलाडी फिलिप आडम्स रहेको प्रहरीले जनाएको छ। हत्याराको खोजी गर्ने क्रममा प्रहरीसँगको भेटमा उनले आफैलाई गोली हानी मारेको प्रहरी अधिकारीहरूले बताएका छन्।
पछिल्लो समय अमेरिकामा बन्दुक आतंक तीव्र बनेको छ। त्यसलाई नियन्त्रण गर्न राष्ट्रपति जो बाइडनले व्यक्तिगत बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्ने बताउँदै आएका छन्।








