नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज दिउँसो १ बजे बस्ने बैठकले त्यससम्बन्धी निर्णय गर्ने नेताहरूले बताएका छन् ।
अहिलेसम्मको छलफलका आधारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको र आज बस्ने बैठकले त्यससम्बन्धी निर्णय गर्ने एक नेताले बताए ।
आफूले दिएको समर्थन फिर्ता नलिएसम्म ओलीविरुद्ध कांग्रेसले कुनै कदम अघि नबढाउने संकेत पाएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको हो ।
प्रदेशमा ओलीविरुद्ध मोर्चाबन्दी गरे पनि केन्द्रमा प्रधानमन्त्री ओलीको विकल्पका लागि पहिले माओवादी केन्द्रको समर्थन फिर्ता हुनुपर्ने कांग्रेसको अडान छ । कांग्रेसको यो अडानका कारण माओवादीले अब भने समर्थन फिर्ता गरेर अघि बढ्ने निस्कर्ष निकालेको हो ।
आइतबार बूढानीलकण्ठस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतको सरकार कायम रहेको अवस्थामा आफूले प्रधानमन्त्री दाबी गर्दै निहुँ खोज्न नमिल्ने बताएका छन् ।
आजको स्थायी कमिटी बैठकमा यो विषयमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘राजनीतिक रुपमा यो सरकारलाई हाम्रो समर्थन छैन । हामीले समर्थन फिर्ता लिन नपर्ने भनेका थियौँ । प्राविधिक रुपमा सरकारलाई समर्थन दिएको देखिएको र सबैले फिर्ता लिनुपर्छ भन्ने सल्लाह दिएकाले लिखित रुपमै समर्थन फिर्ता लिने निर्णय हामी गर्दैछौँ,’ श्रेष्ठले भने ।







