गृहपृष्ठ खबर मास्कविना सार्वजनिक सवारीमा चढ्न निषेध, २५ जनाभन्दा बढी भेला हुन नपाइने

मास्कविना सार्वजनिक सवारीमा चढ्न निषेध, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं : सरकारले कोभिड– १९ संक्रमणकोे अत्यधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरूको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्र र भारतीय सीमा जोडिएका सहरका शैक्षिक संस्थामा भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाएको हो ।

संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार सरकारले जोखिमको सम्भावना उच्च रहेका क्षेत्र घोषणा गरी ती क्षेत्रका लागि विशेष व्यवस्थासहितको मापदण्ड जारी गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड– १९ संक्रमण रोकथाम, पहिचान तथा उपचारका लागि सरकारले जारी गरेको आदेशबारे जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाहरू, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिका, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकाभित्रका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल रूपमा वा वैकल्पिक विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न भनिएको छ ।

विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा, चिकित्सा शिक्षालगायतका सबै परीक्षा जनस्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने भएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, दोहोरी नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल, फुटसल, आमसभा, जुलुस वा हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेदकुद र मानिसको भिडभाड हुने सबै प्रकारका कार्यक्रमहरू वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ ।

मठमन्दिर, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान, प्रार्थना गर्ने–गराउने व्यवस्था मिलाउन भनिएको छ ।

सम्बन्धित् समाचार