पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा प्रकृतिको कुचीकार मानिने लोपोन्मुख मानिने गिद्ध सयभन्दा बढी संख्यामा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ४, पाल्ही बहुमुखी क्याम्पसबाट पश्चिमतर्फ रहेको खेतमा मरेका गिद्ध भेटिएका हुन्।
यसअघि त्यस क्षेत्रमा गिद्ध देखिने गरेको थिएन। तर, एकाएक कसरी सयौँको संख्यामा मृत अवस्थामा गिद्ध फेला पर्यो भन्नेबारे अहिलेसम्म कुनै जानकारी थाहा लागेको छैन।
रामग्राम नगरपालिकाबाट प्राविधिकहरूलाई खटाएर केही नमूना भैरहवा लगी जाँच गर्ने तयारी भएको पशु सेवा शाखाका प्रमुख भरत काफ्लेले जानकारी दिएका छन्।
गिद्ध मरेकै ठाउँ नजिकै दुईवटा मरेका कुकुरहरू बाँधेर फलिएको अवस्थामा फेला परेको पनि काफ्लेले जानकारी दिए। अनुसन्धान नगरी यसै कारणले मरेको हो भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ।
धेरै संख्यामा गिद्ध मरेको खबर पाएपछि २०५७ साल देखि नै गिद्ध संरक्षणको क्षेत्रमा काम गर्दै आएका गिद्ध संरक्षण संघका राष्ट्रिय उपाध्यक्ष यादव खनालले आफू घटनास्थलतर्फ जाँदै गरेको बताएका छन्।








