चितवन : माडीको निमार्ण हुन लागेको अयोध्याधाममा राम, सिता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ। रामनवमीको अवसर पारेर बुधबार माडीको अयोध्यापुरीमा मूर्ति प्रतिस्थापन गरिएको हो।
पञ्चेबाजा, ब्याण्डबाजा, भजनकिर्तन सहित मूर्तिको शोभायात्रालाई स्वागत गरिएको थियो। राम, सिता र लक्ष्मणको मूर्ति मन्दिरमा राखिएको छ। हनुमानको मूर्ति मन्दिर बाहिर राखिएको छ। वडा नम्बर ९ स्थित रिउखोला र घाँघरखोलाको दोभान (कृष्णनगर पार्क)मा अस्थाइ मन्दिर निमार्ण गरेर मूर्ति राखिएको छ।
फूलले सजाइएका अलग-अलग ट्रकमा मूर्तिलाई राखिएको थियो । सवारीको लस्कर सहित ‘सिताराम रथ यात्रा ’ चितवन आएको हो। बाजागाजा सहित बुधबार मूर्ति सहितको रथयात्रा माडी पुगेको थियो। मुर्ति स्थापनाको बेला मानिसहरुको भिड लागेको थियो। मूर्तिलाई मङ्गलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन सहित पूजा गरेर ल्याइएको हो। माडीको परशुराम कुण्डमा जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिएको हो।
मूर्ति प्रतिस्थापनको लागि पर्यटन तथा संस्कृति मन्त्री भानुभक्त ढकाल, बाग्मती प्रदेशका मुख्य मन्त्रि डोरमणी पौडेल माडी पुगेका थिए। पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले रामको जन्म माडीमै भएको पुष्टि गर्ने तथ्यहरु धेरै भएको भन्दै रामको जन्म नेपालमै भएको दावी गरे।
मन्दिर स्थापनापछि माडीको विकास हुनेमा स्थानीय आशावादी छन्। धार्मिक पर्यटनको माध्यमबाट विकास हुनमा माडीका जनता ढुक्क छन्। भौगोलिक विकटताले हैरानी बेहोरेका उनीहरु अयोध्याधाम निमार्ण योजनाले विकास हुने विश्वास गरेका छन्।
गत असार २९ मा भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि माडीको चर्चा चुलिएको थियो। कार्यक्रममा रामको जन्म नेपालमै भएको दावी गरिएको थियो।








