काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको बताएका छन् । शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुदै गएको बताएका हुन् ।
नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुदै गएको बताए । उनले भने ‘लोकतन्त्र सुदृढ हुँदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएका छन् । विभिन्न प्रकारले देश, जनता , विकास, सम्मृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाइरहेका छन् ।’
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आ आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान गरे । पुर्ननिर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिइएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निमाण सम्पन्न भएको उनको तर्क थियो ।
उनले भुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचना भित्र कामगर्न पाउने गरि प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे ।
वर्तमान सरकारले सम्मृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्र्तगत कोहि पनि भोकै नरहने गरि नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिवद्धता जनाए । उनले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने ‘देश हामीले बनाउने हो र हामी बनाउन सक्छौ । नेपाली जाती भिख माग्ने होइन दाता जाती हो र यसलाई दाताको हैसियतमा उठाउनुपर्छ । हामीले हाम्रो राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्छ ।’ आफुलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन आफैले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्र्नै उल्लेख गर्दै उनले त्यही बाटोमा सरकार अघि बढेको बताए ।
सरकारले २०७८ सालभित्र काठमाडौंको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउने दोहोर्याए । उनले तीन सय ९६ वटा अस्पताल निर्माण सुरु गरिएको, मेलम्चीको पानी काठमाडौं आएको, तराईमा सिंचाईका काम लगायत विकास निर्माणका कामहरु भईरहेको बताए ।








