बुटवल : विद्यालयको छात्रावासमा बसेकी एक छात्राको शनिबार मृत्यु भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइतबारदेखि नगरका सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ। यसअघि वैशाख २० गतेभित्र वार्षिक परीक्षा लिइसक्न नगरपालिकाले सबै शैक्षिक संस्थालाई निर्देशन दिएको थियो।
आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले अर्को निर्णय नआउँदासम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
पछिल्ला केही दिनयता कोभिड-१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउन सक्ने भन्दै नगरभित्रका सम्पूर्ण विद्यालय, कलेज, होस्टल, ट्युसन सेन्टर, तालिम सेन्टर अर्को निर्णय नहुँदासम्मको लागि पूर्णतः बन्द गर्नुका साथै सबै प्रकारका परीक्षासमेत तत्काल स्थगित गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए।
नगर प्रमुख एवं सिसिएमसी संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले तिलोत्तमा १, नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययन गर्ने छात्राको निधनप्रति दुःख व्यक्त गर्दै सो घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गरेको छ।
शिक्षा शाखा प्रमुख उप-सचिव गंगाराम आचार्यको संयोजकत्वमा गठित समितिमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई रहेका छन्।
कोरोनासँग मिल्दो लक्षणसहित स्वास्थ्य समस्यापछि छात्राको मृत्यु भएको थियो। मृत्युपछि कोरोना परिक्षणको लागि आइतबार नै स्वाब संकलन गरिएको भए पनि अहिलेसम्म रिपोर्ट आइनपुगेको आचार्यले जानकारी दिए।
उक्त घटनापछि विद्यालयमा केही व्यक्ति गई तोडफोडसमेत गरेका थिए। साथै, बैठकले सम्पूर्ण हाटबजार अर्को निर्णय नहुँदासम्मको लागि बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ।








