काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्यास आयात हुने मुलुक भारतमा कोभिड माहामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।
गत वर्ष ग्यास भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।
ग्यासको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई चुस्त बनाउन निगमले संघलाई पत्राचार गरेको पनि उनले बताए । भारतबाट नियमित रुपमा ग्यासको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने अध्यक्ष भण्डारीको भनाइ छ ।








