गृहपृष्ठ खबर बाणगंगाका हाटबजार वैशाख मसान्तसम्म बन्द, परीक्षा सकिएपछि विद्यालय पनि बन्द हुने

बाणगंगाका हाटबजार वैशाख मसान्तसम्म बन्द, परीक्षा सकिएपछि विद्यालय पनि बन्द हुने

कोरोना संक्रमण नियन्त्रणको लागी बाणगंगा नगरपालिकाले २४ बुँदे निर्देशन जारी गरेको छ । संक्रमण नियन्त्रणको लागि भएको वृहत छलफल तथा नगरस्तरीय स्तरीय विपद् ब्यवस्थापन समितिको बैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने लगायतका २४ बुँदे निर्देशन जारी गरेको हो । विद्यालयको हकमा भने परीक्षा सकेर मात्र बन्द गरिने भएको छ । भोलिबाट नै यो निर्णय लागु हुने नगरपालिकाले जनाएको छ ।

बाणगंगामा आजबाट परीक्षा सुरु भएको अवस्था छ । तत्काल परीक्षा स्थगित गर्दा विद्यालय र बालबालिकाको पढाई प्रभावित हुने बताउँदै नगरले चाँडै परीक्षा सक्न समेत भनेको छ । परीक्षा संचालन गर्दा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन विद्यालयलहरुलाई निर्देशन दिइएको छ ।

हाट बजारसंगै पार्टी प्यालेस पनि बन्द हुने छन् भने होटलहरु राति ८ बजेपछि बन्द हुने छन् । यस्तै रंगशालामा खेलकुदका प्रतियोगिता पनि नगर्न अनुरोध गरिएको छ । २५ जनाभन्दा बढी हुने प्रकारका कार्यक्रम तथा सभा इत्यादि नगर्न नगरप्रमुख मंगलप्रसाद थारुले आग्रह गर्नु भएको छ । बैठकले कोरोना नियन्त्रणमा अन्य क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । आवश्यक कामभन्दा बाहिर नजान, जानै परे स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।
यस्तै सवारीको हकमा चालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र सिट क्षमताभन्दा बढी राखेको पाइए तत्काल कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरेको छ । नगरको गरेका निर्णय उलंघन गर्नेमाथि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कारबाही हुने नगरले जनाएको छ ।

सम्बन्धित् समाचार