मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बञ्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् ।
कैलाश गाउँपालिका–३ कटुञ्जेका बाबु ५० वर्षीय बलराम सापकोटालाई उनका छोरा २९ वर्षीय अञ्जन सापकोटाले बञ्चरोले प्रहार गरी हत्या गरेका हुन् ।
बाबुछोराबीच वादविवाद हुँदा अञ्जनले बाबुको टाउकोमा बञ्चरो हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
‘आइतबार बिहान ९ बजे घरमै बसिरहेका बाबुलाई छोराले टाउकोमा बञ्चरो प्रहार गरेका रहेछन्,’ अधिकारीले भने, ‘स्थानीयले खबर गरेपछि हाम्रो भार्ता प्रहरी चौकीको टोली घटनास्थलमा पुग्दा बाबु सापकोटाको मृत्यु भइसकेको थियो ।’
बाबुको हत्या गर्ने अञ्जनलाई इलाका प्रहरी कार्यालय मनहरीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।









