गृहपृष्ठ खबर कोरोनाको ‘हटस्पट’ बन्दै रुपन्देही : ४ दिनमा करिब १ हजार जनामा संक्रमण

कोरोनाको ‘हटस्पट’ बन्दै रुपन्देही : ४ दिनमा करिब १ हजार जनामा संक्रमण

भैरहवा : कोरोनाको ‘हटस्पट’ बनेको रुपन्देहीमा पछिल्लो चार दिनमा मात्र ९ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस कदम नचाल्दा र सर्वसाधरणको लापरवाहीका कारण संक्रमण दिनहुँ बढ्दै गएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबार २ सय २७ जना, शनिबार ३ सय एक, आइतबार २ सय ४ जना र सोमबार २ सय ६३ जनामा संक्रमण देखिएको छ ।

सोमबार ४ सय ७६ जनाको कोरोना संक्रमण परिक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको उनको दावी छ ।

जिल्लामा गाउँ क्षेत्रभन्दा शहरी क्षेत्रमा संक्रमणको ग्राफ बढ्दो अवस्थामा छ । रुपन्देहीको शहरी क्षेत्र बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका ९भैरहवा० र तिलोत्तमा नगरपालिकामा संक्रमण बढ्दै गएको छ ।

संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन र स्थानीय तहको प्रमुखहरुको आइतबार बसेको बैठकले सबै शिक्षण संस्था बन्द गर्ने र यातायातमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।यति गरेर मात्रै नभइ जिल्लामा लकडाउन गर्नुपर्ने अवस्थामा आएको सरोकारवालाहरुको भनाइ छ । जिल्लामा कुल एक हजार चार सय ७० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

सम्बन्धित् समाचार