काठमाण्डौ : सरकारले काठमाडौ उपत्यकामा बिहीवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेको भिड लागेको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सात दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले सात दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्याएको हो ।
त्यसैले मङ्गलबार बिहानैदेखि काठमाण्डौ उपत्यका छाडेर घर फर्किनेको भिड लागेको छ । खासगरी कोटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भिड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसको भिड लागेको छ ।
केही समय अघिसम्म यात्रुविहीन गुडेका सवारीसाधनले बसभरि यात्रु लिएर उपत्यका छाडेका छन् ।








