कोरोना भाइरसको दोस्रो लहरको मारमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीसमेत पर्न थालेका छन् । पछिल्लो एक सातामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर कोरोनाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको नेपाल प्रहरीका ८० जनाभन्दा बढी सुरक्षाकर्मी संक्रमित भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।
‘नागरिकस्तरमै जुन प्रकारको संक्रमण दर फैलिएको छ । हाम्रो सुरक्षाकर्मीमा पनि त्यही देखिएको छ,’ उनले शिलापत्रसँग भने, ‘उपत्यका र लुम्बिनी प्रदेशमा संक्रमित हुने प्रहरीको संख्या बढी छ ।’
यस्तै, सशस्त्र प्रहरी बलका ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डीआईजी राजु अर्यालले बताए । नेपाली सेनाका समेत ६१ जना संक्रमित भएका छन् ।
तीनवटै सुरक्षा निकायले सकेसम्म कम जनशक्ति परिचालन र सिफ्टअनुसार ड्युटी खटाएर काम गर्न थालेका छन् । हाललाई घर बिदा बसेर फर्किनेको हकमा १४ दिन क्वारेन्टाइनको व्यवस्था मिलाएको छ ।








