गृहपृष्ठ खबर कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख नाघ्यो

कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख नाघ्यो

प्रकाशित मिति:

काठमाडौं : कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख पुगेको छ । १४औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरण गरिसकेपछि जिल्ला र क्षेत्रबाटै त्यसको विवरण सफ्टवेयरमा अपडेट गर्ने व्यवस्था गरेको थियो । तर, समयमा क्रियाशीलको विवरण सफ्टवेयरमा अपडेट नहुँदा महाधिवेधनको कार्यतालिका नै प्रभावित हुँदै आएको थियो ।

यसअघि ६ वैशाखमा बसेको केन्द्रीय समितिको निर्णयबमोजिम हाललाई क्रियाशील सदस्यताको विवरण सफ्टवेयरमा अपडेट गर्ने कार्य रोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘सफ्टवेयरमा गएराति १२ बजेबाट अपडेट गर्ने काम रोकिएको छ, अहिलेसम्म ७३ जिल्लाबाट सात लाख ५३ हजार तीन सय ३३ जनाको विवरण प्राप्त भएको छ,’ मुख्यसचिव पौडेलले भने, ‘अब त्यसको हार्डकपी पनि केन्द्रमा आउनुपर्ने हुन्छ, इन्ट्री गर्न बाँकी रहेको क्रियाशील सदस्यहरूबारे पनि क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गर्छ ।’

अहिलेसम्म प्राप्त विवरणमध्ये सदस्यता नवीकरण गरिएको संख्या तीन लाख ६३ हजार आठ सय ८२ रहेको छ भने नयाँ क्रियाशील सदस्यता प्राप्त गर्नेको संख्या तीन लाख ८९ हजार चार सय ५१ रहेको छ । यसबाहेक सदस्यताको फारम नै नबुझेका र ढिला फारम गएका सिन्धुपाल्चोक, सोलुखुम्बु, बारा र सप्तरीले भने वैशाख मसान्तसम्म क्रियाशीलको विवरण सफ्टवेयरमा अपडेट गरिरहेका छन् । अन्य पार्टीबाट समायोजन भएर आएकाहरूको विवरण पनि अपडेट गर्ने काम भइरहेको मुख्यसचिव पौडेलले बताए ।

कांग्रेसले १३औँ महाधिवेशनमा स्वीकृत क्रियाशील सदस्य संख्यालाई दोब्बर पुर्‍याउने निर्णय गरेको थियो । कांग्रेसमा साढे चार लाख क्रियाशील सदस्य थिए । तर, पुराना सबै सदस्यले नवीकरण नगरेका र क्रियाशील सदस्यता वितरणसमेत शतप्रतिशत नभएका कारण क्रियाशील सदस्य संख्या बल्ल साढे सात लाख पुगेको छ ।

बढ्दो कोरोना संक्रमण र निषेधाज्ञाका कारण क्रियाशीलको नवीकरण र सदस्यता वितरणका काममा अवरोध पुग्ने देखिएको उनले बताए । ‘हार्डकपी जिल्लाबाट केन्द्रमा पठाउनुपर्ने हुन्छ, तर अब तत्काल त्यो पठाउन निषेधाज्ञाले समस्या हुने देखिएको छ,’ उनले भने ।

विधानबमोजिम पाँच वर्ष गुजारिसकेको कांग्रेसले थप ६ महिना म्याद थपेर आगामी भदौका लागि महाधिवेशनको मिति तोकेको छ । जसअनुसार ५ असारबाट अधिवेशन सुरु हुन्छ । कार्यतालिकाअनुसार ५ असारमा वडा, ७ असार पालिका, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन, ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुने कार्यतालिका छ । भदौको ७ देखि १० गतेसम्म काठमाडौंमा १४औँ महाधिवेशन हुनेछ ।

सम्बन्धित् समाचार