नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसदहरूले आधा महिनाको तलब कोरोना महामारीविरुद्धको प्रतिकार्यका लागि प्रदेश विपद् कोषमा जम्मा गर्ने भएका छन् ।
माओवादी केन्द्र संसदीय दलको बैठकले आधा महिनाको तलब कोरोना महामारीविरुद्धको प्रतिकार्यका लागि प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।
‘देश महामारीले आक्रान्त भएका बेला सबै नागरिक सचेत र सहज हुनुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘त्यसलाई प्रभावकारी प्रतिकार्य योजना बनाउन हामीले आधा महिनाको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेका हौं ।’
बैठकले कोरोनाविरुद्धका प्रतिकार्यलाई सशक्त बनाउन माओवादी केन्द्रका सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका प्रदेश सरकार मातहतका निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा नागरिक संघसंस्थासँग आवश्यक समन्वय तथा अनुगमन गर्ने निर्णय पनि गरेको प्रमुख सचेतक नेपालीले बताइन् ।








