रुपन्देहीमा एकैदिन २२७ कोरोना संक्रमित थपिए‚ बुटवलमै ११५ जना

बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय २७ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार १ सय २८ पुरुष र ९९ महिला संक्रमित थपिएका हुन्। थपिएका संक्रमित मध्य सबैभन्दा बढि बुटवल उपमहानगरपालिकाका रहेका छन्। बुटवलका मात्रै १ सय १५ जना रहेका छन्। जसमध्ये ५१ महिला र ६४ पुरुष रहेका छन्।

यस्तै सिद्धार्थनगर नगरपालिकाका २४ पुरुष र १६ महिला गरि ४० जना‚ तिलोत्तमा नगरपालिकाका २४ पुरुष र १९ महिला गरि ४३ जना‚ सैनामैना नगरपालिकाका ७ महिला र ३ पुरुष गरि १० जना नयाँ संक्रमित थपिएका हुन्। यस्तै देबदह नगरपालिकामा २ पुरुष र १ महिला गरि ३‚ कञ्चन गाउँपालिकामा ३ पुरुष र १ महिला गरि ४‚ रोहिणी गाउँपालिकामा ४ पुरुष थपिएका हुन्। यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका‚ सियारी‚ गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन्।

आज थपिएका २ सय २७ संगै जिल्लामा कुल सङ्क्रमितको संख्या १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन्।

रुपन्देहीमा हाल उपचाररत सक्रिय कोरोना सङ्क्रमितको संख्या ८ सय ११ पुगेको छ। जिल्लामा अहिलेसम्म १ सय ६५ जनाले कोरोनाको कारणले ज्यान गुमाएका छन्।

नासा मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल

एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल भएको बताएको छ । मोक्सी नामको यन्त्र प्रयोग गरेर मङ्गल ग्रहमा रहेको कार्बनडाइअक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मोक्सी यन्त्रले यसै हप्ता एक जना मानिसलाई १० मिनेटका लागि पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफल भएको हो । नासाले भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानवसहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बनडाइअक्साइड र शून्य दशमलव १३ प्रतिशत मात्रै अक्सिजन छ । मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बनडाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो । यो प्रविधिलाई विकास गरेर अक्सिजनलाई हाइड्रोजनसँग मिसाइ पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा छ ।

नासाले गएको बिहीबार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण पनि गरिसकेको छ । इन्जुन्यूटी हेलिकप्टर दोस्रो पटक उड्दा पाँच मिटर माथि उठेपछि, दुई मिटर हावामा सीधा अघि बढेर पुरानै ठाउँमा फर्केर अवतरण गरेको थियो । हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन् । यी दुवैलाई पर्सिभिअरन्स यानसँगै गएको फेब्रुअरीमा मङ्गल ग्रहमा लगिएको थियो ।

दाङमा कोरोना सङ्क्रमितलाई भुईँमै राखेर उपचार

दाङ : दाङमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको भुईँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

कोरोनाको पहिलो लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी ‘हाउस फुल’ भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन ।

अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिँदा बेड अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिनुभयो । २५ बेडमा सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड सम्म पुर्‍याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको ओलीले बताउनुभएको छ ।

पछिल्लो समय दाङमा कोरोना सङ्क्रमितको संख्या निकै बढेको छ । दाङमा अहिले २ सय ६७ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमण बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढेको छ । दाङमा अस्पताल अभाव भएपछि कोरोना सङ्क्रमितको उपचार गर्न बुटवल र बाँकेसम्म लैजाने गरिएको छ ।

अहिलेसम्म दाङमा ५७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

एमाले कपिलवस्तु ईन्चार्जको जिम्मेवारी घिमिरेलाई प्रदान

वैखरी अनलाईन(कपिलवस्तु) : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई प्रदान गरेको छ ।

आजको बैठकले नेताहरुको कार्यभिजान गरेको थियो ।  कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

कार्यविभाजनअनुसार घिमिरेलाई कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी दिइएको हो। जिम्मेबारी पाएपछि संक्षिप्त प्रतिक्रिया दिदैं घिमिरेले नेकपा एमाले कपिलवस्तुलाई नया जोस जागरका साथ एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

एकैदिन २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ७४, ललितपुरमा १०६ र काठमाडौंमा ७६० जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ।

गत २४ घण्टामा ४१० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ७५५ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट निको हुनेको दर ९५.९ प्रतिशत छ। पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२२ पुगेको छ।

कपिलवस्तुमा प्रहरीले भारतबाट उद्धार गरी ३ बालिकालाई लगायो परिवारको जिम्मा

कपिलबस्तु : कपिलबस्तुबाट बैशाख ६ गतेदेखि हराएका तिनजना बालिकालाई कपिलवस्तु प्रहरीले भारतको कानपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । घरबाट बाख्रा चराउन तिनजना बालिका राति अबेरसम्म घर नफर्किएपछी प्रहरीले खोजी शुरु गरेको थियो । १३ बर्षकी राधा पासी, बर्ष ८ की छोटि कोहार र बर्ष ५ की चिन्की कोहार रहेका छन् ।

जिल्लाको महाराजगन्ज नगरपालिका वडा नम्बर ८ सिग्रहवाका तिनजना बालिकालाई भारतको कानपुरबाट सकुशल उद्धार गरि आफन्तको जिम्मा लगाईएको कपिलवस्तु जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

बालिकाहरु हराएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा ७ जनाको टोलि, वडा प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्यको कमाण्डमा ७ जना र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट पनि प्रहरी निरीक्षक शुकदेव पौडेलको कमाण्डमा ५ जनाको प्रहरी टोलि खोजतलासमा लागेको थियो ।

प्रहरीले बालिकाका परिवारसग सोधपुछ गर्दा भारत गएको हुनसक्ने आशंकामा सिमा पारी तर्फ खोजी शुरु गरेको थियो । बालिकाहरुको फोटोसहितको हुलिया विवरण कपिलवस्तु सगै भारत उत्तप्रदेश प्रहरिलाई समेत पठाएको थियो । सोही कारण बालिकाहरुलाई तिनदिन भित्रै भारतिय प्रहरिको सहयोगमा फेला पारी सकुशल उद्धार गरेको हो ।
खोजी गर्दै जादा सोरतगढस्थित महाथा बजारको रामजानकी मन्दिर परिसरमा एकरात बसि उनिहरु रेल चढेर कानपुर पुगेको प्रहरीले जनाएको छ ।

भारत सिद्धार्थनगर सोहरगढ थाना माताबजार घर भई नेपालको कपिलवस्तुस्थित महाराजगञ्ज क्षेत्रमा कवाडी सामान खरिद बिक्री गर्ने रियाज अहमद हलुवाई र मन्दिरका पुजारी रामअचल तेलीले बालिकाहरुलाई भेटेको र उनिहरु कानपुरको रेल चढेर गएको बताएपछि प्रहरी कानपुर पुगेको थियो ।

त्यतिन्जेल कानपुर स्थित दादानगर थाना गोविन्दनगर प्रहरीले फेला पारी आफ्नो संरक्षणमा राखेका बालिकाहरुलाई बिहीवार नेपाल प्रहरीको जिम्मा लगाएको हो । हराएर फेला परेकि राधिका पासीले भारत रामगढवास्थित आफ्नो मामाघर जान हिँडेको र रेल फरक परि कानपुर पुगेको प्रहरी सामु बताएकी छन्।

तिनैजना बालिकालाई नेपाल ल्याई स्वास्थ्य परिक्षण गरि अविभावकलाई जिम्मा लगाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बाणगंगामा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

कपिलवस्तु : कपिलवस्तुको बाणगंगामा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नंं ३ निवासी ३३ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

केहि दिन अघि कोरोनाको लक्षण देखिएपछि उनलाई बुटवलमा भर्ना गरिएकोमा शुक्रबार विहान ५ बजे उनको आफ्नै निवासमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

मृतक पुरुषले राजापानीको एक होटलमा काम गर्ने गरेको खुलेको छ । योसंगै जिल्लामा मृतकको संख्या ३४ पुगेको छ ।

गुल्मीमा अज्ञात समूहद्धारा ट्याक्टरमा आगजनी

गुल्मी : गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेको छ । जिल्लाको रेसुंगा नगरपालिका ६ अन्तर्गत चेक्मीमा साइटमा योजनाको काम गर्दै आएको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ट्याक्टर चालकले बिहान पाँच बजे साइटमा काम गर्न जाने क्रममा ट्याक्टरमा आगो दन्किरहेको देखेपछि प्रहरीमा खबर गरेका थिए । पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर गएको तीन हप्तादेखि साइटमा काम गर्दै आएको ट्याक्टर पार्किङ्गमा राखिरहेको अवस्थामा बिहान साढे चार बजेतिर आगजनी गरिएको निर्माण सेवाका सञ्चालक सञ्जय पन्थीले बताउनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो ।

माधव नेपाल पक्षलाई हटाई एमाले स्थायी कमिटी गठन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका एक जनालाई पनि नराखी स्थायी समिति बनाएका छन्। शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटि बनाएका हुन्।

ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएर पछि थप सदस्य थप्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यसअघि एमालेका खनाल-नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए। तर उनीहरू कसैलाई पनि स्थायी कमिटीमा समेटिएको छैन।

माओवादीबाट एमाले प्रवेश गरेकाहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापा एमाले स्थायी कमिटीमा समेटिएका छन्।

यी हुन् स्थायी कमिटी सदस्यहरू

केपी शर्मा ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरूङ, रघुबीर महाशेठ, किरण गुरूङ, केशब बडाल र पुष्पराज कँडेल।

अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली, उपाध्यक्ष गौतम र महासचिव ईश्वर पोखरेलसहित यी नेताहरू रहने छन्।

फ्लोर क्रस गर्ने एमालेका ४ सांसद्लाई पार्टी र संसद् सदस्य नरहने गरी कारबाही

काठमाडौं : कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाइदिने चार सांसदलाई नेकपा एमालेले पार्टी र संसद सदस्य नरहने गरी कारबाही गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने सांसद्हरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारबाही गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

प्रकाश ज्वालाबाहेक चार जना अहिले कर्णाली प्रदेशका मन्त्री छन् । ज्वाला भने केही समयअ अघि कर्णाली प्रदेशका मन्त्री हुनुहुन्थ्यो । पार्टीले अविश्वासको प्रस्ताव पेश गर्दै राजीनामा दिन निर्देशन दिएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।

लुम्बिनी प्रदेश : कोरोना संक्रमितले भरिए अस्पताल

कोरोना भाइरस संक्रमतको दर बढेसँगै लुम्बिनीका कोरोना विशेष अस्पतालका बेड संक्रमितले भरिएका छन् । चैतको अन्तिम सातादेखि निरन्तर संक्रमित बढ्दै जाँदा लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल भरिएका हुन् । अस्पतालका आईसीयू बेडसमेत भरिएकाले नयाँ बिरामीका लागि बेडसमेत पाउन मुस्किल परेको छ ।

बुटवल धागो काराखनास्थित कोरोना विशेष अस्पतालका १३ आईसीयू बेड संक्रमितले भरिएका छन् भने भीम अस्पतालमा पाँच बेडको आईसीयू कक्ष पनि भरिएको छ । बुटवलमा आएका गम्भीर प्रकृतिका संक्रमितलाई भैरहवामा रिफर गरे पनि अहिले बेड नहुँदा काठमाडौं रिफर गर्नुपरेको लुम्बिनी प्रादेशिक अस्पतालका बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा पनि आईसीयु र एचडीयू बेड संक्रमितले भरिएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. प्रकाश थापाले एक हप्ताअघिदेखि अस्पतालका सामान्य बेडसहित १ सय ४२ बेड संक्रमितले भरिएको बताए । उनले अस्पताल संक्रमितले भरिएपछि नयाँ बिरामीको उपचारमा निकै समस्या परेको बताए । दाङको बेलझुण्डी कोरोना अस्पतालमा बुधबार साँझसम्म २८ वटा बेडमा बिरामी रहेका छन् ।

बलात्कारको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पक्राउ

बलात्कारको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–१३ स्थित डुकु होटल एण्ड लजको कोठामा युवतीलाई बलात्कार गरेको आरोपमा यादवलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका–३ का ५४ वर्षीय गाउँपालिका अध्यक्ष यादवलाई बिहीबार पाँच दिनको म्याद गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

अध्यक्ष यादवले काममा लगाई दिन्छु भन्दै भेडेटार जाने बाटो छेउको डुकु होटलमा लगेर खाजा खुवाउने बाहनामा होटलको कोठामा लगेर जबरजस्ती करणी गरेको युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित युवतीकै उजुरीका आधारमा प्रहरीले अध्यक्ष यादवलाई पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले बताए ।,

अध्यक्ष यादवलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट दिन पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुमा अवैध रुख कटानमा संलग्न एक वडा सदस्य पक्राउ

कपिलवस्तु : अबैध रुख कटानमा संलग्न भएको आरोपमा वडा सदस्यलाई बन कार्यालयले नियन्त्रणमा लिएको छ । गत सोमबार कपिलवस्तुुको शिवराज नगरपालिका वडा न ४ का वडा सदस्य केशव बहादुर खत्री ९कृष्ण० अवैध काठ कटानमा संम्लग्न भएको भन्दै स्थानियले किटानी जाहेरी दिएका छन् । खत्रीलाई घटना भएको दुई दिन पछि नियन्त्रण लिइएको डिभिजन बन कार्यालय गौतमबुद्धका सहायक बन अधिकृत एजाज अन्सारीले बताउनुभयो ।

शिवराज नगरपालिका वडा ४ बनकट्टीमा ऐलानी जग्गामा रहेका ४ वटा खयर जातका रुख अबैध रुपमा उनकै रोहबरमा सोमबार बिहान काटिएको भन्दै स्थानियहरुले कारवार्ही गर्न माग समेत गरेका थिए । अवैध रुख काटदै गर्दा वडा सदस्य खत्रीले भने नजिकै रहेर काठ कटानमा सहयोग गरिरहेको भिडियो सार्वजनिक भएको थियो । मिडियाले भिडियो सार्वजनिक गरेपछि खत्रीलाई नियन्त्रणमा लिन दवाव परेको थियो ।

वन कार्यालयमा जाहेरी परेपछि खत्री फरार रहेका थिए र विहिवार स्वंयम खत्री वन कार्यालयमा उपस्थित भएको अन्सारीले बताउनुभयो । अनुसन्धान जारी रहेकोले शुक्रवार म्याद थपिने अन्सारीले बताउनुभयो । अब खत्रीमाथि लागेको आरोप प्रमाणित भएमा ६ महिना सम्म कैद र बिगो अनुुसारको जरिवाना हुने छ ।

नेकपा एमालेवाट निर्वाचित वडा सदस्यकै रोहबरमा अवैध काम गरिनुुले जनतामा जनप्रतिनिधिहरु प्रति उत्तरदायी नभएको देखिन्छ । बहुमुल्य खयर जात बजारमा किलो अनुसार बिक्रि हुने गर्दछ । अबैध रुपमा काटिएको १०७।६४ क्युफिट काठ बरामद गरिएको छ ।

कपिलवस्तुका पत्रकार बेल्वासे जबरजस्तीकरणीको अभियोगमा पक्राउ

बुटवल : रुपन्देहीको भैरहवामा एक युवा जवर्जस्ति करणीको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भैरहवाका पुनहरी बेलबासेलाई शुक्रबार पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । उनी नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका नवनिर्वाचित कार्यसमिति सदस्य समेत हुन् । उनी कपिलवस्तुका स्थायी वासिन्दा हुन् ।

भैरहवाको रविपथमा नेपाल एजुकेशनल ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका बेलबासेले आफ्नै इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई कोठामा बोलाएर जवर्जस्ती करणी गरेको प्रहरीको अभियोग छ । युवतीले जवर्जस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बेलबासेलाई जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जवर्जस्ती करणीको आरोप लगाएको दावी गरेको प्रहरीको भनाइ छ । अभियुक्त बेलबासे आर्थिक बुलेटिन अनलाईन पत्रिकाका सम्पादक हुन् । उनी गत चैत २५ गते भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

पाकिस्तानमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु

पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका गृह मन्त्री शेख रशीद अहमदले बताएका छन्। होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो। पाकिस्तानस्थित चिनियाँ राजदूतलक्षित गरी सो आक्रमण गरिएको आशंका गरिएको छ ।

चिनियाँ राजदूत अफगानिस्तानको सिमानानजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बसेका थिए । तर विस्फोटका बेला उहाँ घटना क्षेत्रमा नरहनु भएको बताइएको छ।

पाकिस्तानको क्वेटा शहरमा अवस्थित होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा रहेको बताइएको छ । पाकिस्तानी तालिबान लडाकूँ समूह यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त समूह र अन्य लडाकू सङ्गठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन्।

बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो। लडाकूहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन्। त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन्।

राष्ट्रिय सभाको उपनिर्वाचन ६ जेठमा

काठमाडौं : राष्ट्रिय सभामा रिक्त रहेको पदका लागि आगामी ६ जेठमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभामा बागमती प्रदेश, अन्य समूहतर्फबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा मगरको रिक्त पदमा पूर्ति गर्न उपनिर्वाचन गर्न लागेको हो ।

नेपाल सरकारको सोमबारको निर्णयअनुसार आयोगले ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन गर्ने घोषणा गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ ९पैँतीस० दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानुनी व्यवस्था रहेको छ ।

आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेभित्र आयोगमा निवेदन दिन सूचित गरिएको प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए ।

आयोगले उपनिर्वाचनका लागि तयारीसमेत प्रारम्भ गरेको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न आयोगले आग्रहसमेत गरेको छ ।

कोरोना प्रभाव : शुक्रबारदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि १० वैशाखदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ ।

पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि संक्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले आज जारी गरेको सूचनामा उल्लेख छ ।

सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने उनले बताए । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

११ चैत २०७६ देखि बन्द गरिएको मन्दिर १ पुस २०७७ देखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा २५ फागुनदेखि मात्र सुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा २७ फागुनदेखि मात्र साविकबमोजिम नै पूरा समय खुला गरिएको थियो । अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासंघलगायत संघ संस्थाले त्यसबेला विरोधसमेत जनाएका थिए ।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ । रासस

बाणगंगा नगरपालिका र चिनिया कम्पनीबिच ११ अरब बढिको सौर्य मेघा परियोजनाको सम्झौता

कपिलवस्तु ९ बैशाख
राष्ट्रिय गौरवको सौर्य मेघा परियोजनाको संचालनका लागि बिहीवार कपिलवस्तुको बाणगंगा नगरपालिका र चीन सरकारको प्यारामेन्ट कम्पनी र राइजेन इर्नजी लिमिटेड बिच बिहीवार सम्र्झौता भएको छ । १ सय २५ मेघावाट बिद्युत उत्पादनकालागि ११ अरब २५ करोडको सौर्य मेघा परियोजनाको दुई पक्ष बिच नगरपालिकाको कार्यालमा संझौता गरिएको हो । चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ र नगर प्रमुख मंगल प्रसाद थारुले सोमवार संझौतामा हस्ताक्षर गेरेका थिए । नगरपालिकाको वडा नम्बर ७ खारखानीमा रहेको सरकारी जग्गामा परियोजना संचालन हुनेछ ।

सौर्य मेघा परियोजनाबाट १ सय २५ मेगावट सौर्य विद्यूत उत्पादन हुने छ । २० मेगावाट स्टोरजेव क्षमताले बाणगंगा नगरपालिका जुनसुकै स्थितिमा पनि लोडसेडिङ नहुने बताइएको छ । यो परियोजनाले कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुहार फेरिने नगर प्रमुुख थारुले बताए। । ‘ प्रदेशकै ठुलो आयोजनाले अब सिंगो जिल्लाको नाम चक्किने छ ’ उनले भने ‘ सिंगो बाणगंगाको मुहार फेरिने निश्चित भएको हो ।’ यो नगरको लागि सबैभन्दा ठुलो उपलब्धि हुने उनले बताए । यो योजना बढीमा ३ बर्षभित्र बनाएर सकिने छ । नेपाल सरकारले पनि काम गर्न निर्माणमा कम्पनीलाई अनुमति दिइसकेकोले नगरसंगको सम्झ्यौतापछि तुरुन्त काम सुरु हुने कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङले बताए । नेपालका प्रतिनिधि राइजोन प्रतिनिधि छविलाल सिटौलाले परियोजनाले यो परियोजनाले जिल्लाको आर्थिक र पर्यटन विकासमा सहयोग गर्ने बताए । यस्तै प्रकृतिाको सौर्य परियोजना बाकेको कोहलपुरमा समेत निर्माण हुनेछ ।

लुम्बिनी प्रदेशको बाणगंगा र कोहलपुरमा निर्माण हुने सोर्य परियोजनाले प्रदेशकै उर्जा संकट टार्ने उनले बताए । गत असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो । यो परियोजनाको लागि यस क्षेत्रकै पुराना वामपन्थी नेता लक्ष्मण रायमाझीले मुख्य पहल गरेका थिए ।हस्ताक्षर कार्यक्रमर्मा चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ र उप मेयर चक्रपाणी अर्याल लगायतको सहभागीता थियो ।

हर्ट विट एफ.एम.द्धारा भित्तेपात्रो विमोचनसंगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

 

हरि घिमिरे, चार नम्बर

म्याजिक ईन्टरटेनमेन्ट मिडिया प्रा.लि.द्धारा संचालित हर्ट विट एफ एम ९१.३ मेगाहर्जले भित्तेपात्रो विमोचन एवम् नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक दुरी कायम गर्दै एफ.एमले एक कार्यक्रमका बीच कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा प्रकाशित उक्त वार्षिक भित्तेपात्रो विमोचन गरेको हो । भित्तेपात्रो रेडियोका अध्यक्ष धातानन्द भूसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान ब्रर्जाचार्य, निवर्तमान अध्यक्ष डिलाराम भुसाल, पुर्व अध्यक्ष मनोज पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य गोपाल भण्डारी, कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले रेडियो संचालन गर्न चुनौतिपूर्ण रहेको भन्दै अबका दिनमा प्रदेश सरकारबाट विज्ञानपनका लागी आफुहरुले पहल गर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष गिरीले कोभिडको समयमा संचारमाध्यमहरु मारमा परेको र यस्ता समस्या समधानका लागी आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले हर्ट विट एफ एम एक व्यवसायीक रेडियो भएकाले यसले अरुले भन्दा फरक धार समातेर काम गर्नुपर्ने सुझव दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान ब्रजाचार्यले हर्ट विट एफ।एम।संग लामो समयदेखि सहकार्य गर्दै आईरहेको भन्दै खुशी व्यक्त गरे । उनले भित्तेपात्रोमा जिल्लाका केही प्रमुख पर्यटकिय स्थलहरुको चित्र, कोभिडको संक्रमणबाट बच्ने उपाय जस्ता कुराहरु समावेश गरेको खण्डमा अझ प्रभावकारी हुने सुभाव दिए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले रेडियोले भित्तेपात्रो विमोचन गर्नु जिल्लामा नै पहिलो भएको दाबी गरे । भित्तेपात्रो तयार गर्नु साधारण कुरा नभएको भन्दै पौडेलले भित्तेपात्रो विमोचन कार्यले अन्य रेडियोलाई हर्टविट एफएमले चुनौती दिएको बताए । कान्छो रेडियोको रुपमा स्थापित भएर पनि जेठो रेडियोको रुपमा हर्टविट एफएमले भित्तेपात्रो विमोचन गरेको पौडेलको भनाई छ । आग्रह पुर्वाग्राह विना हर्ट विटले विगतदेखि नै समाचारहरु सम्प्रेषण गरेको भन्दै पौडेलले भित्तेपात्रो विमोचन कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रमको समापन गर्दै रेडियोका अध्यक्ष धातानन्द भूसालले भित्तेपात्रो विमोचन कार्य रेडियोको पहिलो प्रयास भएको भन्दै आगामी दिनहरुमा सबैको सुझावलाई मध्यनजर गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमका अध्यक्ष समेत रहेका भुसालले नव बर्ष २०७८ सालको शुभकामना दिदैं हालै सम्पन्न नेपाल पत्रकार महासंघको चुनावबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिए । उनले हर्ट विट एफ।एम। कुनै राजनितिक दलको ट्याग भिरेर अगाडि नबढेको र यदि केही समस्या परिआएको खण्डमा आवाज विहिनको आवाज लिएर अगाडि बढेका पत्रकारहरुको साथ सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

हर्ट विट एफ.एम.का स्टेशन म्यानेजर हरि घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम एफ एम का सहायक स्टेशन म्यानेजर हरि आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

कपिलवस्तुमा एक ट्रक अबैध गाई गोरुसहीत २ जना पक्राउ

कपिलवस्तु ९ बैशाख
अबैध रुपमा भित्राइएका गाई र गोरुको ट्रक सहीत ३ जना पक्राउ परेका छन । कपिलवस्तु नगरपालिका– ६ गोबरीमा ना ६ख. ५७१२ नंम्बरको ट्रकमा चेकजाच गर्ने क्रममा ३० वटा गाईगाइहरु अबैधरुपमा लोड गरी पुर्वी जिल्लामा लैजाने क्रममा प्रहरीले सो फेला पारेका हो । ट्रकलाई रोक्न खोज्दा भागेकोले पिछा गरी रोकेर चेकजाच गर्दा अबैधरुपमा राखिएको अवस्थामा गाईगोरुहरु फेला परेको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताए ।

भेटेनरी लगायतका कुनै पनि कागजात साथमा नबोकेको र उक्त गोरु भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको थियो । घटनामा ट्रक चालक ट्रकका चालक जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका नं.१४ बस्ने बर्ष ३१ को लक्ष्मण दमाई २१ को सुदिप भट्टराई (सहचालक )ऐ.गढिमाई गा.पा.वडा नं.३ बस्ने बर्ष २० को बिशाल स्याङताङलाई समेत पक्राउ गरिएको भन्डारीले बताए ।

ट्रक र गाईगोरु गरी २१ लाख रकमको मुल्यांकन गरी तथा पक्राउ परेका चालक सह चालकलाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार चलान गरिएको भन्डारीले बताए ।

 

कपिलवस्तुमा ७ बर्षिया बालिकालाई करणी गरेको ओरोपमा ७० बर्षिय बृद्ध पक्राउ

कपिलवस्तु ९ बैशाख
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ९ मा एक ७० बर्षिय बृद्धले बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन । पुर्वी सिमरा बस्ने शंकटा गिरीले छिमेकका बस्ने ७ बर्षिया बालिकालाई करणीको प्रयास गरे पछि पक्राउ परेका हुन । उनले बालिकालाई ललाईफकाई एकान्तमा लगेर करणीको प्रयास गरेक थिए ।

 

आफनो र बालिकाको भित्रि बस्त्र समेत खोलेर करणी गर्न खोजेको बेला स्थानीयबासीले देखेका थिए । घटना पछि आक्रोसित स्थानीयले उनलाई बाधेर कुटपीट समेत गरेका थिए । स्थानीयबासीले उनलाई प्रहरीलाई बझुाएका थिए । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव पौडेलले पक्राउ परेको आरोपीलाई करणीको मुद्दा चलाइएको बताए । घटनाको अनुसंधान भईरहेको उनले बताए । यस अघि पनि पक्राउ परेका बृद्ध पटक पकट बालिका र पशुहरुलाई करणी गरेको आरोपमा स्थानीयबासीले रंगेहात पक्राउ गरी आईन्दा नगर्ने शर्तमा छाडेका थिए ।

नदीजन्य पदार्थको ठेक्कामै दोहन, दुई नाकाको ठेक्का बन्द गराउने अनुगमन समितिको निर्णय

कपिलवस्तु, ९ बैशाख
स्थानिय तहले नदीजन्य पदार्थको ठेक्का लगाएका स्थानमा पालिकाको फितलो अनुगमनका कारण नदीजन्य पदार्थको दोहन बढ्दै गएको भेटिएको छ । जिल्ला अनुगमन समिती कपिलवस्तुले नदीजन्य पदार्थको ठेक्का लगाएको नाकाहरुमा अनुगमनका क्रममा मापदण्ड मिचेर बालुवा र मिस्कट निकालेको भेटाईएको छ । तोकिएको मापदण्ड मिचिएको भए पनि स्थानिय पालीकाले अनुगमनमा खासै ध्यान दिन नसकेको समितीको अनुगमन बाटै प्रष्टिएको छ । जिल्ला अनुगमन समिती कपिलवस्तुले अनुगमन पश्चात बाणगंगा नगरपालिका अन्र्तगतको भगलापुर नाका र कपिलवस्तु नगरपालिका अन्र्तगतको जरलहिया नाकाको ठेक्का तत्कालै बन्द गर्न बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकालाई पत्राचार गरेको छ । जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनाल संयोजकत्वको जिल्ला अनुगमन समितीले बैशाख ३ गते गरेको खोलाहरुको अनुगमनका क्रममा बाणगंगा नदीको भगलापुर र कपिलवस्तु नगरपालिकाको जरलहिया नाकामा लगाईएको ठेक्कामा मापदण्ड मिचेको भेटिएको थियो । तोकिएको सम्झौताको क्षेत्र र मापदण्ड मिचेर नदीजन्य पदार्थ बालुवा र मिस्कट संकलन गरेको भेटे पछि अनसगमन पश्चात समितीको बैठकको निर्णय अनुसार दुई नाकामा लगाईको ठेक्का तत्कालै बन्द गर्न बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकालाई पत्राचार गरिएको हो । जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी राजेश कुमार गुप्तले हस्ताक्षर गरि गरिएको पत्राचारको बोधार्थ जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र शसस्त्र प्रहरी वल नम्बर २८ गण, बर्मेलीलाई दिईएको छ ।
सो पत्रमा भगलापुर र जरलहिया गरि दुई नाका बन्द गर्ने निर्देशन सगै चालु आव २०७७÷७८ को नदीजन्य पदार्थको सम्पुर्ण ठेक्काको स्विकृत परिमाण र हाल सम्म निकासा भएको परिमाणको विबरण उपलब्ध गराउन निर्देशन दिईएको छ । समन्वय समितीले दिएको निर्देशन अनुसार पालिकाले निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भन्ने बिषय हेर्न बाकी छ । अनुगमनका क्रममा मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खननमा संलग्न रहेको भेटिएको बाणगंगा नगरपालिकाको भगलापुरको ठेक्का ओम सत्य साई कन्ट्रक्सनको नाममा छ । मधु भुषाल प्रोपराईटर रहेको सो कन्ट्रक्सनले ६७ हजार ८ सय ८० धनमिटर (२३ लाख ९४ हजार ८ सय ६ धन फिट) नदीजन्य पदार्थ निकाल्न भ्याट सहित ३ करोड २९ लाख ५० हजार ५ सय ५५ रुपैयामा ठेक्का सकारेको छ । ठेक्का सम्झौता अनुसार २०७८ जेठ मसान्त सम्म सो कन्ट्रक्सनले नदीजन्य पदार्थ निकाल्न पाउने सम्झौता छ । त्यसै गरि अनुगमन समितीले बन्द गर्न निर्देशन दिएको अर्को नाकामा कपिलवस्तु नगरपालिका अन्र्तगतको जरलहिया नाका हो । कपिलवस्तु नगरपालिकाले ठेक्का लगाएको सो ठेक्का प्रिन्स निर्माण सेवा, महिलवार रुपन्देहीले पारेको छ । शत्रुधन प्रसाद त्रिपाठी प्रोपराईटर रहेको सो निर्माण सेवाले १३ लाख ३१ हजार ८ सय २० धन फुट बालुवा र ग्राभेल निकाल्न भ्याट सहित २ करोड ५१ लाख ९९ हजारमा ठेक्का सकारेको थियो ।

तर, ठेक्का सम्झौता बिपरित मापदण्ड भन्दा बढि गहिराईबाट बालुवा निकालिएको र नदी जोडिएको वन क्षेत्रको ढिक खन्ने कार्य गरेको जिल्ला अनुगमन समितीको अनुगमनमा भेटिए पछि समितीको निर्णय अनुसार सम्बन्धित पालिकालाई ठेक्का बन्द गराउन पत्राचार गरिएको जिल्ला समन्वय समिती कपिलवस्तुका निमित्त जिल्ला समन्वय अधिकारी राजेश कुमार गुप्तले जानकारी दिए । जिल्ला समन्वय समितीले कपिलवस्तु नगरपालिकाको जर्लहिया नाका बन्द गर्ने भनि गरेको पत्राचारको कुनै निर्णय नभई सकेको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । “नाका बन्द गर्नु भनि आएको निर्देशनको बारेमा अझै कुनै ठोस निर्णय गरि सकेका छैनौ ।” उनले भने । जिल्ला समन्वय समितीले बाणगंगा नगरपालिकाको भगलापुर नाका बन्द गर्न भनि गरेको पत्राचारका आधारमा अर्को निर्णय नभए सम्मका लागी उत्खनन कार्य बन्द गर्न सम्बन्धित कन्ट्रक्सनलाई पत्राचार गर्ने कार्य अगाडी बढाईएको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले जानकारी दिए । स्थलगत अवलोकनका क्रममा मापदण्ड मिचेर नदीजन्य पदार्थ उत्खनन भएको भेटिएकाले जिल्ला अनुगमन समितीको बैठकले निर्णय गरेको स्पष्ट पार्दै सो निर्णय कार्यान्वयन हुने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । अनुगमनका क्रममा नदीजन्य पदार्थको ठेक्का लगाउदाँ गरिएको सम्झौता र तोकिएको मापदण्ड मिचेर उत्खनन गरेको भेटिएको जिल्ला अनुगमन समितीको संयोजक समेत रहेका जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालले बताए । “ठेक्का लगाईएको स्थानमा आईईई नगरेको स्थानमा उत्खनन गरिएको, वन क्षेत्रलाई असर पर्ने गरि वनको ढिक समेत खनिएको र मापदण्डमा तोकिएको भन्दा बढि गहिरो बनाई अनियन्त्रित उत्खनन गरेको भेटिए पछि ठेक्का बन्द गराउने निर्णय गरेका हौं ।” प्रमुख खनालले भने ।

बिगतका बर्षमा पनि जिल्लाका कतिपय स्थानिय तहले प्रदेश सरकारले बनाएको कार्यबिधी मिचेर नदीजन्य पदार्थको ठेक्का लगाएका थिए । त्यति मात्रै नभई अबैध उत्खननमा प्रसय दिएको भेटिए पछि समन्वय समितिले मापदण्ड नमिच्न भनि दिएको निर्देशन अटेरी गर्दै आएका थिए । गत आर्थिक बर्षमा प्रदेश कार्यबिधी मिचेका र समन्वय समितीको निर्देशन कुल्चेर अगाडी बढेका पालिकाहरुलाई कुनै पनि कारवाही नहुदाँ यस आवमा नदीजन्य पदार्थ उत्खननका नाममा दोहनले प्रशय पाएको देखिएको छ । भविष्यमा बिश्व संपदा सुचीमा सुचिकृत हुने कार्यमा अगाडी बढेको प्राचिन कपिलवस्तु जोडेर बग्ने प्राचिन भागिरथी (बाणगंगा नदी) मा नदीजन्य पदार्थका नाममा ठेक्का लगाउने कार्य नरोकिए प्राचिन कपिलवस्तु जस्तो ऐतिहासिक संरक्षणको क्षेत्र नै प्रभावित हुन सक्ने संरक्षणकर्मीको बुझाई छ ।

 

फाइनल अगाडि मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं : नेपालले मलेसियालाई फराकिलो अन्तरमा हराउँदै सानदार जित निकालेको छ। राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियामाथि ६९ रनले जित निकालेको हो।

नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया ५ बल अगाडि नै अलआउट हुँदै १४८ रनमा समेटियो।

मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान अहमद फैजले ३१ रन बनाउँदा फित्री साम १४ र विकेट विपर विरेनदीप सिंहले १३ रन जोडे। बाँकी खेलाडीले खासै रन बनाउन सकेनन्।

मलेसियालाई सस्तैमा रोक्न नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले ३((३ विकेट लिए। सुशन भारीले १ विकेट हात पारे।

यसअघि करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी(ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनायो।

नेपालले टी ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो। १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आँकडा पार गरेको थियो।

डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए ।

२५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए ।

उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।

यो जितसँगै नेपाल प्रतियोगितामा ४ मध्ये ३ खेल जित्दै ६ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। उपाधिका लागि नेपालले शनिबार नेदरल्याण्डसँग खेल्नेछ।

२४ घण्टामा थप दुई हजार ४ सय २८ मा कोरोना सङ्क्रमण, पाँचको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दश हजार १ नमूनाको पिसिआर परीक्षण र ४४७ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा ९८७ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।

गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट निको हुनेको दर ९५.६ प्रतिशत छ।

महाराजगंज नगरपालिका कोरोना सङ्क्रमणका कारण एक साता बन्द

कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ। कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ। नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो।

नगर कार्यपालिकाको आज बसेको बैठकले यही वैशाख १० देखि १७ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको छ। नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ।

नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्था यथावतरूपमा सञ्चालन हुने सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिए।

महाराजगंज नगरपालिका कोरोना सङ्क्रमणका कारण एक साता बन्द

कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ। कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ। नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो।

नगर कार्यपालिकाको आज बसेको बैठकले यही वैशाख १० देखि १७ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको छ। नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ।

नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्था यथावतरूपमा सञ्चालन हुने सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिए।

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते

दाङ : दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बिहीवार (आज) बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा ​ अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा दुई जना बालक, चार जना महिला र चार जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ की सपना विक, निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ की शर्मिला घर्ती, सल्यानको त्रिवेणी गाउँपालिका ६ का रामप्रसाद कठायत, हस्ती गिरी र तेजबहादुर गिरी रहेका छन् ।

त्यस्तै त्रिवेणी गाउँपालिका ३ की चेतना रेउले, कपुरकोट नगरपालिका ७ का गणेश बोहरा, सुनसरीको इटहरी नगरपालिका ८ का दलबहादुर विश्वकर्मा र स्याङ्जाको फेदी गाउँपालिका १ का रामचन्द्र विक दुर्घटनामा घाइते भएका छन् ।

घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

नेपाल समूहका २७ सांसदद्धारा ओलीलाई स्पष्टीकरण

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ माधवकुमार नेपाल पक्षीय २७ जना सांसदले बुझाएका छन्।

नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवार पुगेर उनीहरुले स्पष्टीकरणको बुझाएको एमाले सांसद जीवनराम श्रेष्ठले जानकारी दिए। ओलीले ३ दिनको अल्टिमेटम दिएर मंगलवार बरिष्ठ नेता माधवकुमारा नेपाल र झलनाथ खनाल समूहका समूहका २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेका थिए। ब्यक्तिगत रुपमा जवाफ माग गरिएकाले व्यक्तिगत रुपमै पत्र बुझाएको श्रेष्ठले बताए।

एमालेको विधान विपरीत क्रियाकलाप गरेको भन्दै ओलीले सांसद पदबाट किन नहटाउने भन्दै केन्द्रका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरण पार्टीको विधान विपरीत भएको भन्दै नेपाल समूह सर्वोच्च अदालतमा गएको भए पनि निवेदन भने हालसम्म दर्ता भएको छैन।

ओलीको नेपाल पक्षलाई चेतावनी– संवादको प्रयासलाई कमजोरी नठान्नु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् । पार्टीको ७३औँ स्थापना दिवस एवं लेनिनजयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतिविधिलाई मान्यता दिन नसकिने र नेताहरूलाई सम्झाउन–बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका हुन् ।

उनले भने, ‘सकेसम्म साथीहरूलाई, हरेकलाई गल्ती महसुस गर, अराजकता छोड, अनुशासित भएर पार्टीमा आएर काम गर, त्यो अवसर अहिले पनि दिन चाहिरहेका छौँ, अहिले पनि हामी कुरा गरिरहेका छौँ । तर, यसलाई यदि कसैले कमजोरी ठान्यो भने, यदि कसैले अब पार्टीलाई फेरि बिथोल्न सकिन्छ, बिथोल्ने मनसायले व्यवहार गर्न खोज्छ भने अथवा समूहगत रूपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’

कुनै वेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरूले अहिले अर्को पार्टी खोलेर हिँड्दा पनि आफूले कारबाही नगरेर सम्झाइबुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताए । उनले भने, ‘उनीहरूले सडकबाट हामीलाई विभिन्न ढंगले कारबाही गरेर निकाल्यौँ, हटायौँ भनेर तमासा गरेका हुन्, नगरा पिटाएका हुन् । हाम्राविरुद्ध हामीले आन्दोलनबाट पाखा लगायौँ भनेर हाम्राविरुद्ध भएको छ । तर, यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरि खोलेर हिँड्दा पनि अहिलेसम्म हामी कारबाही नगरेर सम्झाइबुझाई गर्ने प्रयास गरिराखेका छौँ । अहिले पनि हाम्रो प्रयास सम्झाइबुझाई गर्नेमा छ । अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस् भन्ने कुरामा छ ।’

पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रस्ट पारे । अनुशासनहीनतासँग आफूले कहिल्यै सम्झौता गर्न नसक्ने पनि ओलीले बताए । अनुशासनहीनता, अराजकता, पार्टीविरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए । यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्न सक्ने, जिम्मेवारी लिन सक्ने, तर पार्टीभित्र गुट बनाएर भागबन्डा नचल्ने बताए ।

ओली र नेपालबीच आज पनि संवाद हुदैं

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आज पनि संवाद हुँदैछ ।अध्यक्ष ओली र नेता नेपाल पक्षबीचको अहं र एकार्कालाई सिध्याइदिनेसम्मको धम्कीका कारण विभाजनको डिलमा पुगेको पार्टी एकता रोक्ने प्रयासस्वरुप बुधबार साँझदेखि दुई नेताबीच संवादको प्रयास थालिएका छन् ।

पानी बाराबारको स्थितिमा रहेका दुई नेताबीच बुधवार काठमाडौंको होटल मेरियटमा करिब दुई घण्टा संवाद भएको थियो । आज पनि सोही स्थानमा सहमतिका लागि वार्ता गरिने जनाइएको छ ।

नेकपा खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग अलग पार्टीका रुपमा सर्वोच्च अदालतले मान्यता दिएपछि अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई पाखा लगाउने गतिविधि गरेको आरोप नेपाल पक्षको छ ।

ओलीले एकपछि अर्को गर्दै नेपाल पक्षीय नेतामाथि कार्वाहीको डण्डा बर्साउन थालेपछि नेपाल पक्षले पनि देशभर समानान्तर गतिविधि गर्न थालेको छ । जसले एमाले कुनै पनि बेला दुई टुक्रामा विभक्त हुने खतरामा छ ।

नेकपा एमालेको अबको बाटो कस्तो हुनेछ भन्ने ओली र नेपालबीच आज हुने वार्ताले तय गर्ने विश्लेषकहरुको आंकलन छ । ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबार गरिएको वार्ताको जानकारी गराउनुभएको छ ।

नेपालले ओलीले आफूपक्षीय नेताहरुको अनुपस्थितिमा गरिएका निर्णयहरु फिर्ता लिनुपर्ने बताउँदै आउनुभएको छ भने ओलीले नेपालसहितका नेताले माफी मागेर पार्टीमा फर्कन भन्दै आउनुभएको छ ।

बुधबार के के विषयमा कुराकानी भयो र दुई नेताका अडान र लचकता कस्तो थियो भन्नेमा दुबै पक्षले सार्वजनिक नगरेकाले संवादलाई सफलतामा टुंग्याउन दुबै नेतामाथि तीब्र दबाब परेको भने बुझ्न सकिन्छ ।

यता, संवाद हुँदै गर्दा उता नेपालसहितका नेता भने ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारीमा छन् । वैशाख ७ मा ओलीले माधव नेपालसहित २७ जना सांसदलाई दुई दिनभित्र स्पष्टीकरण दिन पत्र पठाउनुभएको थियो ।