४५ वटा च्याङ्ग्रा मारेर खाँदै गरेको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा भेटिएपछि…

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ ।

 

मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।

बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए । सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिए पछि खोरभित्रै हिँउ चितुवा थुनिएको हो ।

हिउँ चितुवा थुनिएसँगै गाउँलेले जिल्ला प्रशासन कार्यालय मनाङ, अन्नपूर्ण संरक्षण क्षेत्र र नेपाल प्रहरीलाई खबर गरेका थिए ।    घटनास्थलमा हिँउ चितुवाको उद्धारका लागि नार्पा भूमि च्याखुमा रहेको नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कर्मचारी पुगेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । हिउँ चितुवा उद्धारका लागि घटनास्थलमा पुगेको भए पनि खराब मौसमका कारण कसरी उद्धार गर्ने जानकारी प्राप्त भइनसकेको उनले बताए ।

पीडित पक्षले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँग राहत उपलब्ध गराउन माग गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले पीडत पक्षलाई राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिउँ चितुवालाई सम्बन्धित निकायमा लैजाने तयारी गरिएको र उद्धारका लागि आवश्यक सामग्री नहुँदा खोरभित्रै हिउँ चितुवा थुनिएर बसेको जनाइएको छ ।

हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो । यो दक्षिण एशिया तथा मध्य एशियाका हिमाली क्षेत्रमा पाइन्छ । हिउँ चितुवा समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइबीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छ । लुकेर रहने स्वभावका कारण यिनीहरूको यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन । खुला जङ्गली क्षेत्रमा तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा तथा विश्वका चिडियाघरमा ६०० देखि ७०० को सङ्ख्यामा हिउँ चितुवा रहेको अनुमान गरिएको छ

पाकिस्तानकाे सेरेना होटलमा बम बिस्फाेट, चार जनाकाे मृत्यु

पाकिस्तानी शहर क्वेटाको सेरेना होटलमा बम आक्रमण भएकाे छ । यसमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार अन्य ११ जना घाइते भएका छन् ।

आक्रमणका बेला चीनका राजदूत क्वेटामै थिए । क्वेटा बलूचिस्तान प्रान्तको राजधानी हो, जुन अफ्गानिस्तानको सीमानजिकै पर्छ । यद्यपि, आक्रमण भएको होटलमा चिनियाँ राजदूत थिएनन् । विस्फोटन होटलको कार पार्किङमा भएको हो ।

सेरेना होटल क्वेटामा चर्चित छ, जहाँ उच्चपदस्थ सरकारी अधिकारीदेखि कूटनीतिज्ञहरूको आउजाउ भइरहन्छ । पाकिस्तानी तालेवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

युवा तथा खेलकुद विभाग लुम्बिनि प्रदेशको संयोजकमा कपिलवस्तुका थापा मनोनित

वैखरी अनलाइन
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अन्र्तगत युवा तथा खेलकुद बिभाग लुम्बिनि प्रदेशको संयोजकमा कपिलवस्तुका तिलक थापा मनोनित भएका छन । गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजता कोइरालाद्धारा हस्ताक्षरित पत्रमा कपिलवस्तुका तिलक थापा संयोजकमा मनोनित भएका हुन । थापा अखिल फुटवल सघं कपिलवस्तुका अध्यक्ष तथा तरुण दल कपिलवस्तु क्षेत्र नः १ का सभापति समेत रहेका छन ।
प्रदेश अध्यक्षमा मनोनित भएपछि थापाले युवाको क्षमता र खेलकुद क्षेत्रको बिकासमा अझ लाग्ने उनले वैखरी अनलाइनलाई बताए ।

पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा मेरो हस्ताक्षर दुरुपयोग गरियो : मन्त्री पाण्डे

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं जसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै फरक प्रसंगमा भएको हस्ताक्षरलाई मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग भएको उनले बताएका हुन् ।

‘कुनै फरक प्रसंगमा भएका हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएकाले त्यस्तो क्रियालकप निन्दनीय छ । त्यसैगरी प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष गरेको समावेदनप्रति पनि सहमति नरहेको जानाकारी गराउँछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

भर्खरै हिउँदे अधिवेशन सम्पन्न भएको र बर्खे अधिवेशन छिट्टै बस्ने भएकाले विशेष अविधेशन बस्न आवश्यक नभएका भन्दै जसपाले अधिवेशनका लागि समावेदन नगरेको उनको भनाइ छ । पोखरेल नेतृत्वको सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा पार्टीको संलग्नता नरहेकोसमेत उनले बताएका छन् ।

कोरोना नियन्त्रण गर्न जारी आदेश उल्लंघन गर्नेलाई कारबाही : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक संक्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका हुन् । उनले आदेश उल्लंघन गर्नेलाई कारबाही गर्नेसमेत बताएका छन् ।

यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि संक्रमक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो ।

‘आदेशको उल्लंघन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ’, उनले जारी गरिएको अपिलमा उल्लेख छ ।

आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण संक्रमण हुन गएमा संक्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफैँले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ ।

धरहरामा राखियो ३३० किलोको गजुर

पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा आज गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८:०० बजेको शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।

उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने, ‘धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।’

उनका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रस्तिथापन गरी र नयाँ गजुरको पूजा गरेका थिए ।

अहिले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरूप अहिले रङ्ग लगाइएको हो । ११ वैशाख ११:०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ  ।

भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मंसिरसम्मको समय कुर्नुपर्नेछ ।

ओली–नेपाल वार्ता सकिएपछि प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दुवै प्रफुल्ल मुद्रामा निस्किनुभयो

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित होटल मेरियटमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । ‘दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयो,’दुगडले भने ।

दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको भन्दै दुगडले वार्ता सकारात्मक रहेको बताएका हुन् । सरकारको नेतृत्व गरिरहेको एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हो ।

कपिलवस्तुमा झन्डै ५ लाख मुल्य बराबरका अवैध मोबाईल बरामद

कपिलवस्तु : भारतबाट अबैधरुपमा भित्राइएका झन्डै पाच लाख मुल्यका मोबाईल बरामद गरिएको छ । तौलिहवा– चार नम्बर सडक खण्ड अन्तर्गत कपिलबस्तु नगरपालिका वडा नं. ३ महिता चोकमा लु २ ख ४५९४ नंवरको बसबाट सो मोबाईल प्रहरीले बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बसको डिक्कीमा चेकजा गर्नेक्रममा मोबाईल फेला पारिएको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताए ।

बोरामा राखेको बिभिन्न मोडलका सामसुङ मोवाईलका डिस्प्ले थान–५३० बेवारिसे अवस्थामा फेला पारिएको थियो । ४ लाख ७७ हजार मुल्य पर्ने सो मोबाईल आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको प्रहरी नायब उपरिक्षक भन्डारीले बताए ।

आइपिएलमा हैदरावादको पहिलो जित

काठमाडौं : इन्डियन प्रिमियरल लिग अन्तर्गत सनराइजर्स हैदरावादले आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको छ । बुधबार चेन्नईमा आयोजित पञ्जाव किङ्ग्सविरुद्धको खेलमा हैदरावादले जितको स्वाद चाखेको हो । लगातार तीन खेलमा पराजय व्यहोर्दै आएको हैदरावादले पञ्जावविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको पञ्जावले निर्धारित १९ ओभर चार बलमै आफ्ना सबै विकेट गुमाएर १२० रन बनाएको थियो । १२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले एक विकेटको क्षतिमा लक्ष्य प्राप्ति गरेको हो ।

हैदरावादका लागि जोनी बेरिस्टोले अविजित ६३ रन बनाए भने कप्तान डेविड वार्नरले ३७ र केन विलियम्सनले अविजित १६ रन बनाए । यसअघि पञ्जावका लागि मयंक अग्रवाल र शाहरुख खानले समान २२ रन जोडेका थिए । यस्तै क्रिस गेलले १५, मोइसिस हेनरिक्सले १४ र दीपक होडाले १३ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल भए ।

हैदरावादका लागि खलिल अहमदले तीन, अभिषेक शर्माले दुई तथा भुवनेश्वर कुमार, सिद्धार्थ कौल र रशिद खानले एक÷एक विकेट लिए । जारी प्रतियोगितामा हैदरावादले यसअघि मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर बेंग्लोर र कोलकाता नाइटराइडर्ससँग पराजय व्यहोरेको थियो ।

चौथो खेलअघि अंक तालिकाको पुछारमा रहेको हैदरावाद पञ्जावविरुद्ध जित हासिल गरेसँगै पाँचौं नम्बरमा पुग्न सफल भएको छ । पराजयसँगै पञ्जाव भने अंक तालिकाको पुछारमा पुगेको छ ।

गजुर राखिएपछि यस्तो देखियो धरहरा

काठमाडौं : पुनर्निर्माण अन्तिम चरणमा पुगेको २२ तले धरहरामा बुधबार गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

गजुरसँगै २२ औँ तलामा शिवलिंग पनि प्रतिस्थापन गरिएको छ। पुरानै शिवलिंगलाई प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बुधबार बिहान ८ बजेको साइतमा विशेष पूजा गरेर प्रतिस्थापन गरेका हुन्।

२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा छ वर्षपछि पुनर्निर्माण सकिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते धरहरा उद्घाटन गर्दैछन्। सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ।

करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो।

डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्प संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ। भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ।

पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो। बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ।

माडीको अयोध्याधाममा सितारामको मूर्ति प्रतिस्थापन

चितवन : माडीको निमार्ण हुन लागेको अयोध्याधाममा राम, सिता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ। रामनवमीको अवसर पारेर बुधबार माडीको अयोध्यापुरीमा मूर्ति प्रतिस्थापन गरिएको हो।

पञ्चेबाजा, ब्याण्डबाजा, भजनकिर्तन सहित मूर्तिको शोभायात्रालाई स्वागत गरिएको थियो। राम, सिता र लक्ष्मणको मूर्ति मन्दिरमा राखिएको छ। हनुमानको मूर्ति मन्दिर बाहिर राखिएको छ। वडा नम्बर ९ स्थित रिउखोला र घाँघरखोलाको दोभान (कृष्णनगर पार्क)मा अस्थाइ मन्दिर निमार्ण गरेर मूर्ति राखिएको छ।

फूलले सजाइएका अलग-अलग ट्रकमा मूर्तिलाई राखिएको थियो । सवारीको लस्कर सहित ‘सिताराम रथ यात्रा ’ चितवन आएको हो। बाजागाजा सहित बुधबार मूर्ति सहितको रथयात्रा माडी पुगेको थियो। मुर्ति स्थापनाको बेला मानिसहरुको भिड लागेको थियो। मूर्तिलाई मङ्गलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन सहित पूजा गरेर ल्याइएको हो। माडीको परशुराम कुण्डमा जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिएको हो।

मूर्ति प्रतिस्थापनको लागि पर्यटन तथा संस्कृति मन्त्री भानुभक्त ढकाल, बाग्मती प्रदेशका मुख्य मन्त्रि डोरमणी पौडेल माडी पुगेका थिए। पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले रामको जन्म माडीमै भएको पुष्टि गर्ने तथ्यहरु धेरै भएको भन्दै रामको जन्म नेपालमै भएको दावी गरे।

मन्दिर स्थापनापछि माडीको विकास हुनेमा स्थानीय आशावादी छन्। धार्मिक पर्यटनको माध्यमबाट विकास हुनमा माडीका जनता ढुक्क छन्। भौगोलिक विकटताले हैरानी बेहोरेका उनीहरु अयोध्याधाम निमार्ण योजनाले विकास हुने विश्वास गरेका छन्।

गत असार २९ मा भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि माडीको चर्चा चुलिएको थियो। कार्यक्रममा रामको जन्म नेपालमै भएको दावी गरिएको थियो।

कपिलवस्तुमा चट्याङ लागेर ४५ बर्षीया महिलाको मृत्यु

सागर वि.क. (कपिलवस्तु) : कपिलवस्तुमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३ निवासी बैतुल्लाह मुसलमानकी पत्नी ४५ बर्षीय सहारुन निसाको मृत्यु भएको हो । उनी घरबाट बगैचामा गोबरको गैठा लिन जाने क्रममा एक्कासी चट्याङ लागेको थियो ।

चट्याङ लागेपछि थप उपचारका लागी अस्पताल लाने क्रममा उनको विहान ११ः१० बजेको समयमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

घटना विहान घटेको भएता पनि प्रहरीलाई भने दिउँसो मात्र खबर गरिएको र खबर पाए लगत्तै प्रहरीको टोेली घटनास्थलतर्फ गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाईएको जनाएको छ ।

एकैदिन २३५१ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २३५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १०५१ जना थपिएका छन् । यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जना थपिएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

भारतमा एकैदिन करिब ३ लाख कोरोना संक्रमित थपिए, २ हजार बढीको मृत्यु

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा कोरोना संक्रमण बढ्दै गइरहेकोले आउने केही दिनमा नै दैनिक कोरोना संक्रमितको संख्या ३ लाख नाघ्ने अनुमान गरिएको छ।

संक्रमणको दर बढ्दै गएसँगै भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५७ हजार ५३८ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्यामा पनि वृद्धि भएको छ। एकैदिन २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको एएनआइले उल्लेख गरेको छ। १ लाख ६७ हजार ४५७ जना भने डिस्चार्ज भएका छन्।

भारतमा हालसम्म १ करोड ५६ लाख १६ हजार १३० जनामा कोभिड १९ संक्रमण पुष्टि हुँदा १ लाख ८२ हजार ५५३ जनाको मृत्यु भइसकेको छ।

पश्चिम नवलपरासीमा सयभन्दा बढी गिद्ध मृत अवस्थामा फेला

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा प्रकृतिको कुचीकार मानिने लोपोन्मुख मानिने गिद्ध सयभन्दा बढी संख्यामा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ४, पाल्ही बहुमुखी क्याम्पसबाट पश्चिमतर्फ रहेको खेतमा मरेका गिद्ध भेटिएका हुन्‌।

यसअघि त्यस क्षेत्रमा गिद्ध देखिने गरेको थिएन। तर, एकाएक कसरी सयौँको संख्यामा मृत अवस्थामा गिद्ध फेला पर्‍यो भन्नेबारे अहिलेसम्म कुनै जानकारी थाहा लागेको छैन।

रामग्राम नगरपालिकाबाट प्राविधिकहरूलाई खटाएर केही नमूना भैरहवा लगी जाँच गर्ने तयारी भएको पशु सेवा शाखाका प्रमुख भरत काफ्लेले जानकारी दिएका छन्‌।

गिद्ध मरेकै ठाउँ नजिकै दुईवटा मरेका कुकुरहरू बाँधेर फलिएको अवस्थामा फेला परेको पनि काफ्लेले जानकारी दिए। अनुसन्धान नगरी यसै कारणले मरेको हो भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ।

धेरै संख्यामा गिद्ध मरेको खबर पाएपछि २०५७ साल देखि नै गिद्ध संरक्षणको क्षेत्रमा काम गर्दै आएका गिद्ध संरक्षण संघका राष्ट्रिय उपाध्यक्ष यादव खनालले आफू घटनास्थलतर्फ जाँदै गरेको बताएका छन्‌।

नेपालगञ्जमा आज रातिबाट एक साता लकडाउन

काठमाडौं : कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभरी आज राति १२ बजेदेखि लकडाउन हुने भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको थियो। केन्द्रले अनुमति दिएपछि आज रातिबाट लकडाउन लागू हुने भएको हो।

‘जिल्लाभरि नै गर्ने की उपमहानगरपालिकामा मात्र भन्ने छलफल भएको थियो। पहिलो चरणमा उपमहानगरपालिकामा मात्र गर्ने निर्णय भएको हो,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने। लकडाउन अवधिमा अत्यावश्यक सवारी साधन बाहेक अन्यलाई रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको विज्ञप्तिमा नेपालगञ्ज उपमहानगरपालिकामा मात्र ७ सय ३५ जना संक्रमित छन्।

कोरोना संक्रमणबाट दाङमा एक पत्रकारको ज्यान गयो

दाङ : दाङमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं। १७ बेलभारका ४० वर्षीय उनको मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो।

उनी फागुन २५ गतेको निर्वाचनमा नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा भएको निर्वाचनमा मतदान गर्न पनि आएका थिए। आफूलाई अलि सञ्चो नभएको कुरा उनले सोही दिन साथभाइसँग पनि भनेका थिए। चैत २६ गते घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानामा पिसिआर चेकअप गरेका उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

वैशाख ३ गते हेलिकप्टर चार्टर गरी उनलाई उपचारका लागि काठमाडौं पुर्‍याइयो। त्यही उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

उनका उनका श्रीमती, एक छोरा र छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ।

७ वर्षीया बालिकामाथि बलात्कार

काठमाडौं : सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२४ का ३६ वर्षीय प्रमोद सर्राफ छन्। सोमबार तीन छोराछोरीलाई छोडेर काममा गएको बेलामा बालिकालाई बलात्कार गरेको भन्दै आमाले उनीविरूद्ध जाहेरी दिएकी थिइन्।

सो जाहेरीका आधारमा सर्राफलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। खनालका अनुसार बालिकाका आमा-बुवा काममा गएका थिए। डेरामा फर्केर आउँदा मध्यान्ह छोरीलाई बलात्कृत अवस्थामा फेला पारेका थिए।

बालिकाले सर्राफले आफ्नै घरमा लगेर १० रुपैयाँ दिएर फकाई जबरजस्ती करणी गरेको बताएकी छिन्। सर्राफलाई हिरासतमा लिई अनुसन्धान थालिएको छ। बालिकाको स्वास्थ्य परीक्षण गरेर प्राथमिक उपचारपछि आफन्तको जिम्मा लगाइएको छ।

कपिलवस्तुमा १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्यरुपले सम्पन्न

सागर वि.क.(कपिलवस्तु) : कपिलवस्तुमा १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम हौलिहवामा वैशाख ५ र ६ गते प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका बाणगंगा, बुद्धभूमि, महाराजगंज, कपिलवस्तु नगरपालिका, शुद्धोधन, विजयनगर, यशोधरा र मायादेवी गाउँपालिकाका खेलाडीहरुको उत्साहजन सहभागिता रहेको थियो ।

प्रतियोगितामा बाणगंगा नगरपालिकाले शिल्ड हात पार्न सफल भएको छ । बाणगंगाले १२ स्वर्ण, १२ रजत र २ कास्य २६ पदक हात पार्न सफल भएको छ । त्यस्तै प्रतियोगितामा कपिलवस्तु नगरपालिका ९ स्वर्ण, ७ रजत र १० कास्य पदकसहित द्धितिय भएको छ भने बुद्धभूमि नगरपालिका ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तृतीय भएको छ, त्यसै गरि शुद्धोधन गाउँपालका ३ स्वर्ण, ३ रजत र २ कास्य सहित सानत्वना हुन सफल भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन समितिका संयोजक  नारायण प्रसाद खनालले जिल्लामा यस्ता प्रतियोगिता संचालन गर्दा बालबालिकाले आफ्ना अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने एक सुनौलो अवसर प्राप्त गर्ने भन्दै जिल्लाले नै प्रतिभावान खेलाडि प्राप्त गर्ने बताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रमका  प्रमुख अतिथि समेत रहेका खनालले विधार्थीको शारिरीक, मानसिक विकाससंगं चौतर्फी विकासमा खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समिति कार्यलय प्रमुख मिन प्रसाद पोखरेलले जिल्लामा खेलकुदको आधार बनाउनका लागी स्थानीय सरकारले खेलकुद क्षेत्रमा लगानी गर्दै प्रथामिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै उहाँले कपिलवस्तु जिल्लाले हालसम्म विभिन्न खेलका ५ ओटा राष्ट्रिय प्रतियोगिताहरु सम्पन्न गरि सकेको र खेलकुद क्षेत्रको विकासमा जिल्लाका १२ ओटा खेल संघहरुले संक्रिय भूमिका निर्वाह गरि रहेकामा खुशि व्यक्त गर्नुभयो ।

प्रतियोगितामा कपिलवस्तु नगरपालिकाका उदयमान खेलाडि सुदिप थारु बेस्ट प्लेयरका रुपमा  घोषित भएका छन् भने अनुशासित टमको उपाधि विजयनगर गाउँपालिकालाई दिईएको छ । प्रतियोगिताको उद्घाटन उद्घाटन समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले गर्नुभएको थियो, भने अध्यक्षता सामाजिक विकास डिभिजन कार्यलय कपिलवस्तुका कार्यलय प्रमुख नरेन्द्र बेल्वासेले गर्नुभएको थियो । उद्घाटन समारोहमा हेमराज मावि हतौसाका छात्रा विधार्थीहरुले नृत्यद्धारा अतिथि तथा खेलाडिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय च्याम्पियन सागर खासु मगर, सुदिप थारु, तुल्सी थारु र बाणगंगा स्पोर्टस एकेडेमिका प्रशिक्षक तथा राष्ट्रिय भलिवल खेलाडि भरत थापालाई कदर पत्रले अभिनन्दन गरिएको थियो ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष प्रतियोगिता भव्य रुपले भएको छ ।

कपिलवस्तु दुर्घटना अपडेट : २ जनाको मृत्यु, ५ को अवस्था गम्भिर

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा भएको सवारी दुर्घटनाका घाइतेमध्ये २ जनाको मृत्यु भएको छ । बुटवलको चौराह हस्पिटलमा उपचाररत बाणगंगा नगरपालिका–२ का ४० वर्षीय लु १ ख ५६८४ नम्बरका बस चालक कृष्ण कुवँर र उमेर, ठेगाना नखुलेका फुरवान खड्काको क्रिमसन हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

दुर्घटनामा परी २८ जना घाइते भएकामध्ये रुपन्देही सैनामैना–३ का ४५ वर्षीय ट्रकचालक नारायण चौधरी, बसमा यात्रु बुद्धभूमि–४ की ३६ वर्षीया सावित्रा कुँवर, बाणगंगा नगरपालिका–८ का ४५ वर्षीय बिष्णु बञ्जाडे , बुद्धभूमि नगरपालिका–४ की २१ वर्षीया सुमित्रा कुमाल, बुद्धभूमि–२ का ५० वर्षीय मुसे थारुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक मंगलबार बिहान साढे १०:४० बजे बुद्धभूमि–९ को जंगलमा ठोक्किएको थियो ।

घाइते २८ जनामा २ जनाको उपचारको क्रममा क्रिमसन हस्पिटल बुटवलमा मृत्यु भएको छ भने ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख डिलिप क्षेत्रीले जानकारी दिए ।

२८ जनामा २ जनाको मृत्यु भैसकेको छ ५ जनाको अवस्था गम्भीर रहेको र २१ जना घाइतेहरुको अवस्था समान्य रहेको छ । घाइते सबैको उपचार बुटवल हस्पिटल, चौराह र क्रिमसन हस्पिटलमा भइहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको छ । घाइतेहरुलाई टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

बाँकेमा बैशाख ९ गतेदेखि लकडाउन गर्ने निर्णय

काठमाडौं : बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तीमा एक साताको लकडाउन गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले एक दिनमा तीन सयभन्दा बढी संक्रमित भेटिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अतिनै धेरै जोखिममा परिसकेकोले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताउनुभयो ।

बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी लकडाउन गरिने निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।

बाँकेका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । पछिल्लो समयमा केही दिन यता आएर बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ ।

पहिलो पटक बाँकेमा एकैदिन ३ सय २२ जना कोरोना संक्रमित भेटिएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना सङ्क्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।

माओवादी स्थायी समिति बैठक : समर्थन फिर्ताको निर्णय भएन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको छैन। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा वैकल्पिक सरकारको निर्माण, अधिवेशनको अन्त्य र कोरोना संक्रमण रोकथामबारे छलफल भए पनि समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय भएको छैन।

बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिनिधिसभा बैठकको मिति र समय निर्धारित भइसकेको अवस्थामा संसद्को अधिवेशनलाई हठात बन्द गर्ने काम गर्नु सरकारको अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी कदम हो । बैठकले त्यो कदमको भर्त्सना गरेको छ।’मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी थिइन् ।

बैठकमा कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको आरोप लगाइएको थियो। बैठक बुधबार १ बजे फेरि बस्दैछ। ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउन सक्रिय देखिएको माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छैन। नेपाली कांग्रेसले माओवादी निर्णय गरेपछि मात्र वैकल्पिक सरकारको तयारी अघि बढाउन सकिने बताउँदै आएको छ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा पौडेल मनोनित, कसले के के जिम्मेवारी पाए ?


वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा वैखरी अनलाइन मिडियामा प्रधान सम्पादक अशोक पौडेल मनोनित भएका छन । आज बसेको तेस्रो पुर्ण बैठकले पौडेललाई प्रेस सल्लाहकारको जिम्मेवारी प्रदान गरेको हो ।

त्यस्तै बैठकले अन्य बिभिन्न पदमा मनोनित समेत गरेको छ । जसमा कार्यसमितिको बिशिष्ठ सदस्यमा पुर्व अध्यक्ष समेत रहेका बिष्णु प्रसाद न्यौपाने रहेका छन भने सदस्यमा गजेहडाका लक्ष्मण शर्मा, बनगाईका राजकुमार श्रेष्ठ र कुशल पौडेल , जितपुरकी बिमला श्रेष्ठ र ओदारीका धिरेन्द्र अधिकारी मनोनित भएका छन । त्यस्तै कानुनी सल्लाहकारमा गुणनिधि भुसाल, लेखासमिति संयोजकमा मोहन न्यौपाने , लेखा समिति सदस्यमा लिलापति घिमिरे र सुधामा बस्याल लाई मनोनित गरिएको हो । यसैबिच सल्लाहकारमा कृष्णराज अर्याल मनोनित भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

यसैबिच

कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा प्रकाशित भित्तेपात्रो विमोचन

कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा प्रकाशित भित्तेपात्रो विमोचन


हरि घिमिरे, बैशाख ७
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा प्रकाशित गरिएको भित्तेपात्रोको एक कार्यक्रमका विच विमोचन गरिएको छ । उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार पात्रो विमोचन गरिएको हो । विगतका बर्षहरुमा जस्तै यस बर्षपनि कपिलवस्तु उद्योग वाणिज्य संघले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको संघले जनाएको छ ।

विमोचन कार्यक्रमका प्रमुख अतिथी प्रदेश शभा सदस्य विष्णु पन्थीले कपिलवस्तु उद्योग बाणिज्य संघ राष्ट्रको चिनारी बनेको बताएका छन् । केहि बर्ष अगाडि देखि चालु रहेका कामको नयाँ कार्य समितिले निरन्तरता दिनुले पनि नगरवासिमा एकताको संन्देस पुगेको उनको भनाई छ । बाणगंगा नगरपालिका सम्भावनाको खानि भएकाले यस क्षेत्रमा निजि लगानि कर्ताले उद्योग बाणिज्य संघको सहकार्यमा ढुक्क भएर लगानि गर्न आग्रह गरे । त्यस्तै उनले तुलनात्मक रुपमा बुटवल, भैरहवाको भन्दा जग्गा जमिन बाणगंगामा उद्योगको प्रयाप्त संम्भावना रहेको बताए । नगर संङ्गको समन्वयमा बाणगंगामा लगानि सम्मेलन गर्न सकेमा समृद्ध बाणगंगा बन्न समय नलाग्ने उनले बताए ।

त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले कपिलवस्तु उद्योग बाणिज्य संघ र बाणगंगा नगरपालिकाको सहकार्य अत्यन्त सुमधुर रहेकाले बाणगंगाको महत्व अझै बढेको बताए । रोजगारी सिर्जना गर्ने काममा कपिलवस्तु उद्योग बाणिज्य संघ लागि परिरहोस भन्दै नगर प्रमुख थारुले नगरपालिकाले रोजगारीका लागि पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमानाथ पौडेल, संघका बर्तमान अध्यक्ष डोलकराम घिमिरेले आ–आफ्नो भनाई राख्दै नबवर्षको सम्पुर्णमा शुभकामना व्यक्त गरेका थिए ।

भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा पात्रो प्रकाशन संयोजक तुल्सीराम घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष छवि रेश्मीको स्वागत तथा संघका महासचिव मनोज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

पश्चिम नवलपरासीमा गोली लोड भएको पेस्तोलसहित एक जना पक्राउ

उर्मिला यादव यात्री(नवलपरासी) : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले गोली लोड भएको पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाँउपालिका वडा नम्बर ५ तरेनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाल रहेका छन ।

प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे चार बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय नम्बर प्लेट यु पी ५७ एजेड ५०१९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सुस्ता गाँउपालिका वडा नम्बर ५ तरेनी बस्ने भेडियार पालको साथबाट एक राउण्ड चेम्बर लोड भएको टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल सुस्ता गाँउपालिका वडा नम्बर ५ रामनगर ४ नम्बर ठोक्करबाट फेला पारेको हो ।

बरामद भएको पेस्तोल, गोली र भेडियार पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

कपिलवस्तुमा सवारी दुर्घटना अपडेट : बसचालक वाणगंगाका १ जनाको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ भने २१ जना घाइते भएका छन् । कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका– २ का २९ वर्षीय कृष्णबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकका चालकसहित २५ जना घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलीक्लिनिक, चौराह अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्यलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीको भनाइ छ ।

कपिलवस्तुको बुद्धभुमी १ टिक्करमा नरसिहं मन्दिरको उद्घाटन

वैखरी अनलाइन : कपिलवस्तुको बुद्धभूमिम नगरपालिका वडा नं. १ टिक्करमा आज एक कार्यक्रमकाबिच नरसिहं मन्दिरको उद्घाटन गरिएको छ । अर्घाखाँचीको मालारानीमा मुल मन्दिरको रहेको नरसिंह मन्दिरकोे सम्झनामा टिक्करमा सो मन्दिर निमार्ण गरिएको हो ।

बुद्धभुमी नगरपालिकाको २० लाख आर्थिक सहयोगमा बनेको मन्दीरलाई आज एक कार्यक्रमकाबिच पुर्व सिचाई मन्त्री सुरेन्द्रराज आर्चायले उद्यघाटन गरेका हुन । कार्यक्रममा बोल्दै पुर्व राज्यमन्त्री आर्चायले नागरिकको धार्मिक आस्थामा आच आउने काम कसैले गर्न नहुने बताउदै सबै धर्म संरक्षणमा लाग्नुपर्ने बताए ।

उद्यघाटन कार्यक्रममा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, वडा नः १ का वडा अध्यक्ष तेज तिलक बस्नेत, पुर्व यसयसपि बिक्रम थापा, बुद्धभुमी उद्योग बाणिज्य सघंका अध्यक्ष शुभराम भुसाल, समाजसेवि बिष्णुराज टण्डन, पिताम्बर खनाल लगायतले आआफनो धारणा राखेका थिए ।

मन्दीरको आय ब्यय निमार्ण समतिका कोषाध्यक्ष हिम्मत बहादुर टण्डनले पेश गरेका थिए भने निमार्ण समितिका अध्यक्ष मेयर सिहं कुवँरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन भीमराज खनालले गरेका थिए ।

गुल्मीमा कारागारभित्र कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला

गुल्मी : जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

कारागार प्रमुख भेषराज पन्थका अनुसार कार्यालय सहयोगी पाण्डेको घर जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौर हो । उनी २०६३ सालदेखि कारागारमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।

उनी मंगलबार बिहान ८र९ बजेको बीचसम्म बगैँचामा सिञ्चाई गर्दै थिए । १० बजे पछाडि नाइलेनको डोरीमा झुन्डिएको अवस्थामा उनी फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी रहेको बताइएको छ । परिवारका सदस्यहरुलाई बोलाइएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

कपिलवस्तुका एकसहित ६ कोरोना संक्रमितको मृत्यु

रुपन्देही : रुपन्देहीमा ६ कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवास्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलमा उपचाारत महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो ।

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षीय महिलाको मृत्यु भएको छ । यस्तै भैरहवामा उपचाररत ४ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षीय, झिमरुक प्युठानका ५८ वर्षीय, रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षीय र स्वर्गद्वारी प्युठानका ४८ वर्षीय पुरुष रहेको युसिएमएस मेडिकलका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार युसिएमएस कोभिड युनिटमा ७ जना भेन्टिलेटर सहित ९ जना आइसियुमा, १२ जना एचडियुमा र १९ जना इमरजेन्सी आइशोलेशन बेडमा उपचाररत छन ।

कपिलवस्तुमा सवारी दुर्घटना : २४ वढी घाइते, ६ जनाको अवस्था गम्भिर

कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमी ९ मा सवारी दुर्घटना भएको छ । दुर्घटनामा २४ भन्दा वढी घाइते भएका छन् । बुटवलबाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक वस र विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्वरको मालबाहक ट्रक मंगलवार विहान १०ः३० बजे ठोक्किएको थियो ।

घटना दुवै सवारी साधनका सवारी चालकको गम्भिर रहेको बताइएको छ । स्थानीय रुटमा चल्ने वस भएको कारणले दुर्घटना घाईते हुने वढी स्थानीय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताए ।

बसको क्याबिनमा बसेका र दुवै चालकको सहित ६ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । गाडीमा अड्किएका चालकको उद्धार गर्नका लागि प्रहरीले टोचन प्रयोग गरेको थियो । केही घाइतेको हात खुट्टा भाचिएको र ४ जना सामान्य चोट लागेको बताईएको छ ।

सामान्य चोट रहेकालाई स्थानीइ बुद्धपोली क्लिनिक र अन्यलाई उपचारका बुटवल तर्फ लगिएको बताईएको छ । इलाका प्रहरी कार्यालय गोरुसिंगे, सशस्त्र प्रहरी , ट्राफिक प्रहरीले घाइले को उद्धार गरी एम्वुलेन्स, निजि जिप तथा कारको प्रयोग गरी उपचारका लागि पठाइएको छ ।