काठमाडौं : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी दुई सय २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार चार सय ६६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आठ हजार नौ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार चार सय ७४ जनाको पीसीआर र सात सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार नौ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेको छ ।
यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेको छ । अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना सक्रिय सङ्क्रमित छन् ।