गृहपृष्ठ खबर नेपाल सुपर लिग : काठमाडौं रेजर्स फाइनलमा

नेपाल सुपर लिग : काठमाडौं रेजर्स फाइनलमा

काठमाडौंं  : काठमाडौंं रेजर्सले बिहीबार नेपाल सुपर लिगको फाइनल यात्रा तय गरेको छ । उसले यसका लागि दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीमाथि ३–० को प्रभावशाली जित निकाल्यो । अब शनिबार हुने उपाधिको भिडन्तमा काठमाडौं र धनगढी एफसी भिड्ने छन् । हारले भने प्रतियोगितामा ललितपुरको उत्कृष्ट पुर्नआगमन यात्रा टुंगेको छ ।

पहिलो क्वालिफायरमा धनगढीसँग हारेपछि काठमाडौंले यो खेल खेल्नु परेको हो । ललितपुरले भने बुटवल–लुम्बिनी एफसीलाई पन्छाएर यस खेलका लागि योग्य भएको हो । लगातार ६ खेलपछि ललितपुर प्रतियोगितामा पराजित भएको यो पहिलो पल्ट हो । लिग चरणको पहिलो खेलमा काठमाडौंले ललितपुरलाई नै हराएको थियो ।

लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टिमबीच नै अब फाइनल हुनेछ । अन्तिम अंक तालिकामा काठमाडौं पहिलो र धनगढी दोस्रो स्थानमा रहेको थियो । काठमाडौंले यसपल्ट प्राप्त गरेको जितमा तीनै गोल क्यामरुन खेलाडीको नाममा रह्यो । मेसुके ओलेमोउले पहिलो हाफमा सात मिनेटको अन्तरमा दुई गोल गरे ।

उनले १५ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । कमल श्रेष्ठले मेसुकेलाई नै पेनाल्टी एरियामा लडाएपछि काठमाडौंले पेनाल्टी अवसर पाएको थियो । ललितपुरले चार खेलपछि खाएको यो नै पहिलो गोल हो । धनगढीविरुद्ध लिग चरणको तेस्रो खेलमा ललितपुरले अन्तिम पटक गोल खाएको थियो ।

त्यसयता उसले ३ सय ९२ मिनेटपछि विपक्षीलाई गोलको अवसर दिएको हो । मेसुकेले नै २२ औं मिनेटमा बायाँ खुट्टाको शक्तिशाली प्रहारको मद्दतले दोस्रो गोल गरे । यससँगै प्रतियोगितामा उनको गोल संख्या सात पुगेका छ र उनी सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छन् । स्टेफन बिनोङले ५९ औं मिनेटमा ललितपुर एफसीले बिछ्याएको अफ साइड ट्रायप तोडेर तेस्रो गोल गरे ।

उनको यो तेस्रो व्यक्तिगत गोल हो । खेलको सुरुआती सातौं मिनेटमा ललितपुरका लागि क्रोएसियाली खेलाडी फिलिम फोसिनकोभिच खालि पोस्टमा गोल गर्न चुकेका थिए र यो टिमका लागि अन्ततस् महँगो सावित भयो । लगातार एक दिनको अन्तरमा खेल्नु परेको हुनाले ललितपुरलाई त्यसले फाइदा गरेन् ।

सम्बन्धित् समाचार