एजेन्सी । सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ८१८ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये तीन जनाको आइतबार मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली हानेर मारेका हुन् । सहरबाट माग भएअनुसार गाउँबाट खाद्य पदार्थ लिएर आइरहेका बेला उनीहरुको हत्या भएको जनाइएको छ । उनीहरुको शव पनि सैनिकले नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।
सैनिक सरकारले अहिले चार हजार २९६ जनालाई गिरफ्तार गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ । त्यसैगरी एक हजार ८२२ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।
सैन्य सरकारले म्यानमारकी नेतृ आङ सान सुकीसहितका शिर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ । उनीहरुलाई नियन्त्रणमा राखेपनि आम नागरिक र राजनीतिक दलहरूको तर्फबाट आन्दोलन भने निरन्तर भइरहेको छ ।
सेनाद्वारा गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्युत गरिएकी सुकीलाई सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो । सुकीलाई लामो समयपछि सोमबार राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित गराइएको छ ।
उनका एक जना वकिल मिन मिन सो ले टेलिफोनमा बताए अनुसार अदालत भित्र लैजानु अघि मात्रै उनलाई आफ्ना वकिलहरुसँग भेट गर्न दिइएको थियो ।
कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट विरुद्ध पनि सुकीलाई जस्तै आरोपहरू लगाइएका छन् । सुकी विरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सुकीलाई भिडियो लिङ्क मार्फत अदालती सुनुवाई गरिएको थियो । उनलाई कुनै पनि कानुन व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन ।
कानुन व्यवसायी मिन मिन सो ले म्यानमारका जनताप्रति सुकी ले सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुनुवाइका क्रममा सुकीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाई होस् भन्नुभएको र एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहने बताउनु भएको सुनुवाई पश्चात मिनले जानकारी दिए । सुकी स्वस्थ र आत्मविश्वासपूर्ण देखिनु भएको उनको भनाई छ ।








