गृहपृष्ठ खबर निषेधाज्ञामा पनि विकास निर्माणका काम धमाधम

निषेधाज्ञामा पनि विकास निर्माणका काम धमाधम

दैलेख : निषेधाज्ञा लागू भए पनि जिल्लामा विकास निर्माणका काम जारी छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको बहानामा कुनै पनि विकास निर्माणका काम नरोक्ने ठेकेदार कम्पनीलाई निर्देशन दिएपछि कामले निरन्तरता पाएका हुन् ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा निशेषाधाको समयमा झन्डै २० प्रतिशत काम सकिएको छ । अहिले विभिन्न ठाउँमा सडक स्तरोन्नतिका कामहरू भइरहेको आयोजना प्रमुख अर्जुन बमले बताए । लोकमार्गका विभिन्न क्षेत्रमा झन्डै १ हजार २ सय स्थानीयले रोजगारी पाएका छन् । ‘लकडाउनकै कारण गत वर्ष काममा ढिलाइ भएपछि यो वर्ष तीव्रता दिएका हौं,’ उनले भने, ‘अहिले त अरू बेलाभन्दा बढी स्थानीयले रोजगारी पाइरहेका छन् ।’ उनका अनुसार लोकमार्गअन्तर्गत भगवतीमाई गाउँपालिकाको मनघरदेखि लोहोरेखोलासम्म २१ किमि खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ ।

दुल्लु लगरपालिकाको चकर्तादेखि रामाघाटसम्मको २५ किमि खण्डमा कालोपत्रे गर्ने तयारी भइरहेको उनले बताए । यस्तै लोहोरेदेखि सदरमुकाम दैलेख बजार खण्डको १० किमि सडकमा पनि स्तरोन्नतिको काम भइरहेको छ ।

आयोजना प्रमुख बमका अनुसार निर्माण क्षेत्रमा कामदारलाई माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न भनिएको छ । ‘कोरोना संक्रमण फैलन नदिन आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ,’ उनले भने, ‘भारतबाट कोरोनाका कारण फर्किएका स्थानीयले पनि अहिले नियमित रोजगारी पाएका छन् ।’आयोजनाको कार्यालयले निषेधाज्ञाकै समयमा मुआब्जा विवादको समस्या हल गरिएको जनाएको छ ।

सम्बन्धित् समाचार