गृहपृष्ठ Featured अबको दुई-तीन दिनमै मनसुन नेपाल पस्ने

अबको दुई-तीन दिनमै मनसुन नेपाल पस्ने

यसपालिको मनसुन अनुमान गरेभन्दा केही दिन पहिला नै नेपाल आइपुग्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसदविद् निराजन सापकोटाका अनुसार जेठ २६-२७ गते मनसुन पूर्वी नेपाल प्रवेश गर्ने सम्भावना छ।

‘भारतको मौसम विभागले आइतबार नै पश्चिम बंगाल र उत्तरपूर्वी भारतमा मनसुन पुगेको जनाएको छ,’ सापकोटाले सेतोपाटीसँग भने,‘हामीले नेपालमा पनि कहिले पस्छ भनेर हेरिरहेका छौं। बुधबार-बिहीबारतिर आउँछ कि भन्ने हाम्रो अनुमान छ।’

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो। तर उत्तरपूर्वी भारतमा नै चार-पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो आउन लागेको हो।

जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको  नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ।

महाशाखाकी प्रमुख इन्दिरा कँडेलका अनुसार दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ।

‘सबै ८ देशका मौसमविदसँगै उक्त भेलामा अरू देशका पनि मौसमविद् र वैज्ञानिकहरू सहभागी हुन्छन्। त्यहाँ सबैले आ-आफ्नो देशमा कस्तो मनसुनी गतिविधि हुन सक्छ भनेर कुरा राख्छन्,’ कँडेलले भनिन्,‘त्यसपछि यो क्षेत्रमा कुनै वर्षको मनसुन कस्तो हुन्छ भन्ने पूर्वानुमान सार्वजनिक गरिन्छ।’

यसपालि उक्त भेला भर्चुअल रूपमा भएको थियो।

महाशाखाका अनुसार यसपालि मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुनेछ।

‘आगामी मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू-भागहरुमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ३५-६५% (हिमाली भू-भागहरुमा ५५-६५%, उच्च पहाडी भू-भागहरुमा ४५-५५% र चुरे तथा महाभारत क्षेत्रमा ३५-४५%) आँकलन गरिएको छ,’ महाशाखाले भनेको छ,‘त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५-४५%, र प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५-४५% आँकलन गरिएको छ।’

बंगालको खाडीबाट होइन सोमालियादेखि आउँछ नेपालमा मनसुन

म्यानमार र दक्षिण एसियाका सात मुलुकले देशको अर्थतन्त्र चलाउन आ-आफ्नै अर्थमन्त्री नियुक्त गर्छन्। तीमध्ये केहीले अर्थतन्त्रलाई उभो लगाउँछन्, केहीले अर्थतन्त्रमा कुनै सुधार ल्याउन सक्दैनन्। कहिलेकाँही बिगार्छन्।

केही वर्षमा यी मुलुकका अर्थमन्त्री फेरिइरहन्छन्। तपाईंलाई थाहा छ, यो क्षेत्रमा कहिल्यै पनि नफेरिने अर्थमन्त्री पनि छ। जसले बजेट भाषण गर्दैन तर यो क्षेत्रका सबै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्छ।

युगौंदेखि निरन्तर आफ्नो जिम्मेवारी बहन गरिरहेको यो अर्थमन्त्री हो- मनसुन। जुन यसपालि पनि दक्षिण भारतमा आइसकेको छ। एक दुई दिनमा नेपाल पस्नेछ।

नेपालको सन्दर्भमा त अर्थमन्त्रीभन्दा बढी भूमिका मनसुनको हुन्छ।

नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ। त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ। मनसुन समयमै आए बालीनाली सप्रिन्छ। खाद्यान्न उत्पादन बढ्छ। त्यसले देशको कुल ग्राहस्थ उत्पादन बढाउँछ।

मनसुनले बालीनालीको उत्पादकत्वमात्र बढाउँदैन धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ। रनअफ दी रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ। बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन्। अर्थतन्त्र चलायमान हुन्छ।

यति महत्वपूर्ण भूमिका भएको मनसुन नेपालमा आइपुग्छ कहाँबाट?

धेरैले भन्छन्- बंगालको खाडीबाट आउँछ।

यो सतप्रतिशत सही होइन। बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन। बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ। भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरू हुन्छ, नेपाल आइपुग्ने मनसुन।

त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ।

पूर्वीअफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावाबारे बुझ्नुपर्छ।

भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ। उत्तरी र दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ। त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ। दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए। एउटा ध्रुवमा तीन वटासम्म यस्ता जेट स्ट्रिम हुन्छन्। जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन्। मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरक-फरक भइरहन्छ।

दुबै ध्रुव नजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ। ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ।

चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन्।

जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलार्द्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर  नयाँ जेट स्ट्रिम बन्छ। जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालिया नजिक हुन्छ।

‘सोमालिया नजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘सोमालियाबाट उत्तरपूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ।’

नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरू हुन्छ। मौसम विभागले पछिल्लो तीस वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ।

केरलाबाट पनि मनसुन सिधै नेपाल आउँदैन।

केरलाबाट यो दुईतिर बाँडिन्छ।

एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न। अर्को समुद्र हुँदै बंगालको खाडी आइपुग्छ। यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ।

बंगालको खाडी आएको  मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन। त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायूले बाटो खाली गरिदिनु पर्छ।

नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ। पश्चिमी वायू उत्तर नसरेसम्म मनसुनको केही चल्दैन।

सम्बन्धित् समाचार