गृहपृष्ठ Featured चीनसँग खोप खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा, मात्रा र मूल्य भने लुकाइयो

चीनसँग खोप खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा, मात्रा र मूल्य भने लुकाइयो

प्रकाशित मिति:

चीनसँग कोरोनाविरुद्धको खोप खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप खरिदको प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको हो ।

तर, कति मात्रा र कति मूल्यमा खोप खरिद गर्ने भन्ने खुलाइएको छैन । ‘प्रस्ताव क्याबिनेटमा  पुगेको छ । मात्रा र मूल्य गोप्य राखिएको छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने । चिनियाँ अधिकारीसँग छलफल भएपछि मन्त्रालयले खोप खरिदको फाइल मन्त्रिपरिषद्‌मा लगेको हो । चीनले मात्रा र मूल्य गोप्य राख्न भनेकाले नखुलाइएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार क्याबिनेटमा गएको फाइलमा १ करोड २० लाख डोजको हाराहारीमा खोप किन्ने प्रस्ताव गरिएको छ । चीनले तोकेको मूल्यभन्दा कममा नेपाललाई दिन सहमत भएकाले मूल्य लुकाइएको मन्त्रालय स्रोतको दाबी छ । हाल भेरोसेल खोप प्रति डोज १७ डलर रहेको छ ।

विभागका महानिर्देहक दीपेन्द्र रमण सिंहले पनि खोप खरिदको सबै प्रक्रिया अगाडि बढाइएको बताए । ‘खोप उत्पादक सबै कम्पनीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘कतिपय कुरा हाललाई गोप्य राख्नुपर्ने छ ।’ यसअघि पनि चीनसँग खोप खरिद प्रक्रिया अगाडि बढेको थियो । चीनले मूल्य गोप्य राख्न भनेको थियो । तर, तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मूल्य सार्वजनिक गर्नुपर्ने अडान लिएपछि खरिद प्रक्रिया रोकिएको थियो ।

हालसम्म कति आयो खोप  ?

नेपालमा हालसम्म ४२ लाख ३८ हजार खोप आएको छ । जसमध्ये भारतबाट कोभिसिल्ड खोप १० लाख, चीनबाट भेरोसेल १८ लाख, खरिद गरेको कोभिसिल्ड १० लाख, नेपाली सेनालाई आएको कोभिसिल्ड १ लाख र कोभ्याक्सबाट ३ लाख ८४ हजार खोप नेपालमा आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २४ लाख ३८ हजार १ सय २७ जनाले पहिलो मात्रा र ६ लाख ९१ हजार ४ सय ९४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।

१४ लाख नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित 

पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका १४ लाख नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् । सिरमले खरिद गरेको १० लाख डोज खोप नपठाउँदा १४ लाख नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित भएका हुन् ।

भारतमा संक्रमण बढेको र कम्पनीमा आगलागी भएको कारण देखाउँदै खोप नपठाएको हो । खरिद गरेको खोपमा नेपालले कम्पनीलाई ८० प्रतिशत रकम भुक्तानी गरिसकेको छ । सिरमले तत्काल पठाउन नसक्ने बताएपछि कोभ्याक्सबाट एस्ट्राजेनिकाको खोप ल्याएर कोभिसिल्ड पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सरकारको योजना छ ।

कोभिसिल्डको विकल्प एस्ट्राजेनिका

कोभ्याक्सले पनि कोभिसिल्डको विकल्पमा जान नेपाललाई पत्र पठाएको थियो । नेपालले कोभिसिल्डको विकल्प एस्ट्राजेनिकाको खोप उपलब्ध गराउन जवाफ पठाइसकेको छ ।

‘१४ लाखको लागि एस्ट्राजेनिकाको र बाँकी जुन खोप भए पनि हुन्छ भनेर पत्र पठाएको छ,’ मन्त्रालयको खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले भने, ‘२ देखि ८ डिग्रीसम्म भण्डारण गर्न मिल्ने र डब्लूएचओले सिफारिस गरेको खोप जुन भए पनि हुन्छ ।’  कोभ्याक्सले एस्ट्राजेनिका, नोभोभ्याक्स, फाइजर, मोर्डर्ना, स्पुतनिक भी, जोन्सन एन्ड जोन्सनमध्ये एउटा खोप रोज्ने भनेको थियो ।  कोभ्याक्सले २० प्रतिशत नागरिकका लागि खोप दिनेछ ।

सम्बन्धित् समाचार