गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ४ असारमा (शुक्रबार) विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिन लागिएको पत्र सरकारको तर्फबाट मंगलबार दर्ता भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
‘हिजै पत्र दर्ता भयो । दुई दिनपछि सदनमा जाने हो । ४ गते लिनुहुन्छ,’ उनले भने ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानमा छ । गत २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका उनले नियुक्तिको एक हप्ता नपुग्दै विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ (५) अनुसार चार दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले सोही धाराको उपधारा ६ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
उनले विश्वासको मत पाउने पक्का छ । ६० सदस्यीय गण्डकी प्रदेशसभाका एक सांसद पदमुक्त भएसँगै प्रदेशमा कायम सांसद संख्या ५९ छ ।
मुख्यमन्त्री पोखरेलले ३० सांसद आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । उनको पक्षमा ३१ जना सांसद छन् ।
कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका दुई/दुई र एक स्वतन्त्र सांसद गरेर मुख्यमन्त्री पोखरेललाई ३१ सांसदको समर्थन छ ।
गण्डकी प्रदेशसभामा मंगलबार ३० अर्ब ३ करोड रुपैयाँ बजेट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको छ । बजेट प्रस्तुत भएसँगै जारी बजेट अधिवेशन बिहीबार दिउँसो १ बजेसम्म स्थगित छ ।








