बागमती प्रदेशको उत्तरी क्षेत्रस्थित सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको चपेटामा छ । क्षेत्रफलको दृष्टिकोणले प्रदेशको सबैभन्दा ठूलो जिल्ला सिन्धुपाल्चोक भौगोलिक रूपले विकट पनि छ ।
सिन्धुपाल्चोकमा हरेक वर्ष विपद्का कारण ठूलो जनधनको क्षति हुने गरेको छ । १७ साउन २०७१ राति गएको जुरे पहिरो, १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्प, २०७३ मा आएको भोटेकोशी बाढीलगायतका प्रकोप सिन्धुपाल्चोकवासीका लागि कहिल्यै बिर्सिन नसक्ने घटना हुन् । भूकम्प, बाढीपहिरो, आगलागी, स्वास्थ्य समस्या, सवारी दुर्घटना, हावाहुरी, चट्याङ, खडेरी, जंगली जनावर र जलावायु परिवर्तनका प्रकोपको उच्च जोखिममा छ, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकले २०७१ साल यता लगातार ठूला प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । मंगलबार रातिदेखि निरन्तर परेको वर्षाले हेलम्बु र मेलम्चीमा आएका ठूलो पहिरोका कारण भीषण बाढी आउँदा ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ । मेलम्ची खोला उर्लिएर आउँदा मेलम्ची बजारका अधिकांश घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ५० जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन् । बुधबार बिहानको मेलम्ची वितण्डाले सिन्धुपाल्चोकका यसअघिका प्राकृतिक प्रकोपलाई फेरि सम्झाएको छ ।
सिन्धुपाल्चोकमा १७ साउन २०७१ मा गएको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो । जुरे पहिरोले घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत गरी १ सय ५३ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । पहिरो गएपछि जुरे बजार विस्थापित भएको थियो । हाल यहाँ पहिरोले पुरिएका भग्नावशेष घरका संरचना देख्न पाइन्छ । १२, १३ र २९ वैशाख २०७२ मा आएको विनाशकारी भूकम्पमा परी ३ हजार ५ सय ७१ जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पबाट १ हजार ५ सय ६५ जना घाइते तथा ८ जना बेपत्ता भएका थिए । भूकम्पले सिन्धुपाल्चोकमा ७८ हजार ५ सय ३७ घरमा पूर्ण रूपमा क्षति पुर्याएको थियो । भूकम्पले सिन्धुपाल्चोकका पहाडहरू चर्किएको भन्दै उतिबेलै पहिरो खाने खतरामा राखिएको थियो । यसैगरी २१ असार २०७३ मा भोटेकोशी बाढीले वितण्डा मच्चाएको थियो । भोटेकोशी नदीमा आएको भीषण बाढीले लिपिङ बजारका ३० घर बगाएको थियो । बाढीले तातोपानी नयाँबस्तीका ३० घरमा क्षति पुग्नुका साथै अरनिको राजमार्ग बन्द हुन पुगेको थियो ।
८ साउन २०७४ राति गएको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बन्न पुगेको थियो । पहिरोले फेरि अरनिको राजमार्ग अवरुद्ध पनि भएको थियो । २ भदौ २०७५ मा राति साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगाएको थियो । उक्त पहिरोले २२ घरमा लेदो पसेर क्षति पुर्याएको थियो भने १२ घर जोखिममा परेका थिए ।
४ असार २०७७ राति बाह्रबिसे नगरपालिका-५ को जम्बु बजार पहिरोले पुरिएको थियो । पहिरोमा परेर जम्बु बजारका २ जनाले ज्यान गुमाएका थिए । जम्बु बजार पहिरोले पुरिँदा १७ जना बेपत्ता भएका थिए भने २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेको थियो । बाह्रबिसे नगरपालिकाकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त बन्न पुग्यो ।
भोटेकोशी गाउँपालिकाको बुल्कुटेमा पनि पहिरो जाँदा एक जनाको मृत्यु हँदा तीन जना बेपत्ता भएका थिए । लार्चा भन्ने स्थानमा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित हुन पुगेको थियो । अरनिको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्कीपुल क्षतिग्रस्त बन्ने पुगेको थियो भने लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखिएको थियो ।
गत वर्ष ३१ असार २०७७ मा राति भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । उक्त पहिरोले ३ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो । १८ साउन राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भएको थियो भने सोही दिन बरुवामा घर पुरिँदा २ जनाले पनि ज्यान गुमाए ।
२२ साउनको अविरल वर्षाका कारण आएको पहिरोले चौतारा साँगाचोकगढी नगरपालिका–२ सेराफाँटमा ४ घर पुरिएको प्रशासनले जनाएको छ । पहिरोले बलेफी कात्तिके सडक अवरुद्ध हुनुका साथै सयौं रोपनी धानखेत बगाएको थियो । ३० साउन बिहान जुगल गाउँपालिका-२, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा बेपत्ता भएका ३९ जनाको मृत्यु भएको थियो ।
सिन्धुपाल्चोकवासीले हरेक वर्षको जस्तै यसपालि पनि प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ । मंगलबारदेखि आएको पहिरोसहितको बाढीले ५० भन्दा बढी बेपत्ता भएका छन् भने अहिलेसम्म ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी आएको हो । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुर्याएको छ ।








