काठमाडौं : गृहमन्त्री विष्णु प्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन्। शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै अर्थमन्त्री समेत रहेका पौडेलले आफुले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताए। साथै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका हुन्।
उनले आफुसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए। संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए। मन्त्री पौडेलले नतिजामुखि काम आफुले खोजेको पनि बताए।
भने, ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिन। म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ। कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडी बढ्नुपर्छ भन्ने मान्यता राख्छु। यहाँहरुले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ। कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन। गृह सचिवले हस्तक्षेप गर्दैन।’
संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र स्थापित प्रणालीहरु का आधारमा आ–आफ्ना जिम्मेवारीपुरा गर्नका सबै स्वतन्त्र हुने उनले बताए।
‘नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु।’
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरीपनि आफुकहाँ नआउनको लागि निर्देशन दिए।
‘म कहाँ एउटापनि पुलिस नआओस्। अन्याय भयो भनेर साच्चि नै अन्याय अनुभुत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु। नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस्। प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ। मेरो जिम्मेवारी सहजीकरणको हो। ‘
उहाँले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताए। अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्नपनि उनले निर्देशन दिए।
‘राजनीतिक परिस्थितिको प्रभाव चाहीँ गृह प्रशासनमा पर्नु हुँदैन। सुरक्षा निकायमा पर्नु हुँदै । राजनीतिक परिस्थिति अलग कुरा हो। त्यो आफ्नो ढंगले चल्दै गर्छ। त्यसबाट यहाँहरु प्रभाव नहुनुहोला, उनले भने,’अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन। शान्ति सुरक्षा, जिउधनको रक्षामा गम्भिरताका साथ ध्यान दिनुस्।’
मन्त्री पौडेलले आफु मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताउनुभयो। उहाँले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए।







