दाङ : दाङ जिल्ला अदालतले सहकारीको पाँच करोड बढी रकम हिनामिना मुद्दामा चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। अदालतले एक महिलालाई भने साधारणमा तारेखमा छोड्न आदेश दिएको छ।
राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह(लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई आइतबार अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।
सह–लेखापाल रानाकी २७ वर्षीया श्रीमती उषा राना थापालाई साधारण तारेखमा छोड्न आदेश दिए अनुसार रिहा गरिएको छ।
जिल्ला न्यायाधीश ऋतेन्द्र थापाको इजलासले सो आदेश जारी गरेको अदालतका सूचना अधिकारी तथा श्रेस्तेदार धनसिंह गिरीले बताए। गिरीले फरार सूचीमा रहेका भनिएका अन्य २० जनाविरूद्ध तत्कालै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने जानकारी दिए।








