माइक्रोब्लगिङ साइट ट्विटरले भारत प्रशासित जम्मु–काश्मीर र लद्दाखलाई अलग–अलग देशका रूपमा देखाएको छ । जम्मु–काश्मीरमा पाकिस्तान र लद्दाखमा भारतले चीनसँग संघर्ष गरिरहेकाे छ ।
सामरिक महत्त्वका यी दुई क्षेत्रलाई ट्विटरले भारतको नक्साभन्दा बाहिर देखाएपछि केन्द्र सरकारले ट्विटरलाई पत्र पठाउने तयारी गरेको एक अधिकारीलाई उद्धृत गर्दै इन्डिया टुडेले लेखेको छ ।
ट्विटरले ‘तोडमोड’ नक्साबारे छानबिन गर्न सम्बन्धित निकायलाई सरकारले निर्देशन पनि दिएको बताइएको छ । छानबिनको जिम्मा पाएको निकायले नक्सा कहिले परिवर्तन गरियो, वेबसाइटमा कहिले राखियो र यसरी तोडमोड गर्नुपछाडिको कारण के हो, ट्विटरलाई त्यस्तो नक्सा कसले दियो भन्नेबारे बुझ्नेछ । भारतीय सञ्चारमाध्यका अनुसार यो घटनामा सरकारले कडा कारबाही गर्न सक्छ ।

ट्विटर करियर पेजको ट्वीप लाइफ सेक्सनमा विश्वको नक्सा छ । यहीँबाट कम्पनीले देखाएको छ, संसारमा कहाँ–कहाँ ट्विटरको टिम छ । उक्त म्यापमा भारत पनि छ तर भारतको नक्सामा जम्मु–काश्मीर र लद्दाख देखाइएको छैन । अर्थात् यी दुवै क्षेत्रलाई छुट्टै देशका रूपमा देखाइएको छ । यसअघि पनि ट्विटरले लद्दाखलाई भारतको नक्सामा देखाएको थिएन । तर पछि त्यसलाई ट्विटरले सच्याएको थियो ।








