दाङ : दाङबाट महँगा मोटरसाइकल चोरी गरी रोल्पा र प्युठानमा लगेर स्वरूप परिवर्तन गरी बेच्ने गिरोह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय घोराहीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दाङबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पा र प्युठान लगायतका जिल्लामा लगेर स्वरूप परिवर्तन गरी विक्री-वितरण कार्यमा संलग्न आठ जनालाई सार्वजनिक गरिएको हो।
दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले चोरी कार्यमा मोटरसाइकल वर्कसप सञ्चालकहरूको मुख्य बदमासी देखिएको बताए।
‘पहाडी जिल्लामा मोटरसाइकल वर्कसप सञ्चालन गर्नेहरूले नै चोरी कार्यका लागि पैसा दिएर पठाउने र चोरीका मोटरसाइकलहरूको स्वरूप परिवर्तन गरी विक्री गर्ने गरेको तथ्य उजागर भएको छ,’ एसपी काफ्लेले सेतोपाटीलाई भने, ‘चोरीको बाइकसहित एक जना पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रहरी वर्कसप सञ्चालकको बदमासी पत्ता लगाउन सफल भएको हो।’
उनले मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ परेको हुँदा अबदेखि दाङ तथा आसपासका जिल्लाहरूमा हुने चोरी रोकिने आशा व्यक्त गरे।
असार १५ गते बिहान २ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं। १४ निमाहल रोडबाट रा ५ प ४४९६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरी लैजाने क्रममा रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं। ५ का २५ वर्षीय नुमबहादुर रोका क्षत्री र २४ वर्षीय हिराबहादुर विष्ट मोटरसाइकलसहित पक्राउ परेपछि अनुसन्धान गर्दै प्रहरीले चोरी कार्यमा संलग्न गिरोह नै पत्ता लगाउन सफल भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले उनीहरू पक्राउ परेपछि अनुसन्धानबाट रोल्पाको सुलिचौरमा ग्लोबल बजार सर्भिस सेन्टर सञ्चालन गर्दै आएका २८ वर्षीय श्रीताज अली पक्राउ परेको जानकारी दिए।
अली चोरीका मोटरसाइकल ५० हजारसम्म मूल्य हालेर खरिद गर्ने र मोटरसाइकल चोरी कार्यका लागि गिरोह समेत परिचालन गर्ने प्रमुख व्यक्ति रहेको डिएसपी रिजालले पत्रकार सम्मेलनमा बताए।








