भारतको केरला राज्यमा जीका भाइरसका १४ संक्रमित फेला परेसँगै त्यहाँको सरकारले सतर्कता बढाएको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जर्जले तिरुअनन्तपुरम जिल्लामा जिका भाइरसका संक्रमित फेला परेको पुष्टि गरेकी हुन् ।
विनाले भनेकी छिन्, ‘राज्यको सबै स्वास्थ्य निकायलाई सतर्क गराइएको छ । सबै जिल्लाको मेडिकल अधिकारीलाई पनि विशेष गरी गर्भवती महिलाको ख्याल गर्न भनिएको छ । ‘हामी लगातार अनुसन्धान गरिरहेका छौं । हामीले पुनेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीलाई नमुना संकलन गरेर पठाइरहेका छौं । चिन्ता गर्नुपर्ने त्यस्तो केही छैन । हामीले राज्यभर परीक्षण र निगरानी बढाएका छौं’ उनले भनेकी छन् ।
भारतमा सन् २०१६–१७ मा पहिलोपटक जिका भाइरसका संक्रमित देखिएका थिए । त्यतिबेला गुजरातमा यो भाइरसका संक्रमित फेला परेका थिए ।
सन् १९४७ मा युगाण्डाको जीका जंगलका बाँदरमा पहिलोपटक यो भाइरस देखिएको थियो । तर, सन् १९५२ मा यसलाई औपचारिक रुपमा एक विशेष किसिमको भाइरस मानिएको थियो ।
यद्यपि शोधकर्ताहरुका अनुसार भारतमा ठूलो संख्यामा मानिसहरु संक्रमित भएका थिए । किनकि १९६ जनामा परीक्षण गर्दा ३३ जना मानिसमा यो भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भइसकेको पाइएको थियो । यी शोधकर्ताहरुले जिका भाइरसले भारतमा पनि मानिसहरुलाई संक्रमित बनाइरहेको निष्कर्ष निकालेका थिए ।
यो भाइरस विशेषगरी लामखुट्टेबाट फैलिने गरेको छ । यद्यपि यौन सम्बन्धबाट पनि यो भाइरस सर्न सक्छ । यो भाइरसको कारण बालबालिकाको मष्तिस्कको विकास हुन पाउँदैन । धेरै संक्रमितको कम विकसित मष्तिस्क भएको बच्चा जन्मिएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०१६ मा जिका भइरसलाई विश्व स्वास्थ्य आपतकाल भएको बताएको थियो ।
जीका भाइरसको संक्रमणका लक्षणहरु
यो भाइरसको संक्रमण भएका मानिसको मृत्युदर निकै कम छ । पाँच संक्रमितमध्ये एकजनामा यसको निम्न लक्षण देखिन्छ –
- हल्का ज्वरो
- आँखा रातो हुने वा सुन्निने
- टाउको दुख्ने
- अत्यधिक जीउ दुख्ने
- शरीरमा बिमिराहरु देखिने
अहिलेसम्म यो भाइरसको लागि कुनै पनि खोप र औषधि उपलब्ध छैन त्यसैले बिरामीलाई आराम गर्ने र धेरैभन्दा धेरै तरल पदार्थ खाने सल्लाह दिइन्छ ।
सबैभन्दा चिन्ताको कुरा यसको असर गर्भमा बढिरहेको बच्चालाई पर्छ । यस्तो अवस्थामा कम विकसित मष्तिस्क भएको बच्चा जन्मिन्छ । यसलाई माइक्रोसेफली भनिन्छ ।
के हो माइक्रोसेफली ?
जब बच्चा जन्मिँदा उसको मष्तिस्क कम विकसित र असामान्य हन्छ, त्यसलाई माइक्रोसेफली भनिन्छ । यो अवस्थामा मष्तिस्क राम्रोसँग विकसित हुन पाएको हुँदैन । यसको गम्भीरता कम वा धेरै हुन सक्छ ।
यद्यपि मष्तिस्क कहिलेकाहीँ पूर्ण रुपमा विकसित नभएको कारण जीवनको प्रमुख कार्यलाई पनि नियन्त्रित गर्न सक्दैन । जुन निकै घातक हुन सक्छ ।
यो भाइरसबाट संक्रमित भएका बच्चाको मष्तिस्कले राम्रोसँग काम गर्न सक्दैन र उसको विकास पनि सही समयमा हुन सक्दैन ।
यस्तो अवस्था रुबेला, गर्भावस्थाको समयमा नशा सेवा गर्ने वा वंशाणुगत असामान्यताजस्ता संक्रमणको कारण पनि हुन सक्छ । डब्ल्यूएचओका अनुसार वैज्ञानिकले जिका भाइरसको कारण माइक्रोसेफलीका साथै गिलेन बेरे सिन्ड्रोम पनि हुन सक्ने बताएका छन् । यो संक्रमणको कारण एक विशेष किसिमको समस्या देखिन्छ । यसलाई गिलेन बेरे सिन्ड्रोम भनिन्छ । यसको कारण अस्थायी पक्षघात हुन सक्छ ।








