लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । ६ असारमा विपक्षी गठबन्धनले बहिष्कार गरेपछि स्थगन भएको बैठक तीन सातापछि बस्न लागेको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको बारेमा छलफल सुरु हुने छ । गत असार १ गते लुम्बिनी सरकारले बजेट प्रस्तुत गरेको भए पनि प्रदेशसभामा छलफल सुरु हुन सकेको छैन ।
६ असारमा विपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले विश्वासको मत लिनुपर्ने माग गर्दै बैठक बहिष्कार गरेका थिए ।
अहिले विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । प्रदेशसभा चल्न दिने वा नदिने बारे बैठकमा छलफल भइरहेको माओवादी केन्द्रका एक सांसदले जानाकारी दिए ।
गत साता मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेकी जसपाकी सांसद सुमन शर्मा रायमाझीले भौतिक पूर्वधार विकास राज्यमन्त्रीबाट राजीनामा दिँदै समर्थन फिर्ता गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको ती नेताले बताए ।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले शनिबार पार्टीको संसदीय दलमा छलफल भएको र आज अन्य विपक्षी दलसगँको छलफल गरेर निर्णय गर्ने बताए ।
शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जसपाबाट मन्त्री भएका ३ र एमालेका ३८ जनासहित प्रदेशसभामा सत्तापक्षसँग ४१ सांसद देखिएका छन् । विपक्षी गठबन्धनसँग पनि ४१ जना सांसद छन् । प्रदेशसभामा बजेट निर्णयार्थ प्रस्तुत हुँदा मत बराबरी भएमा सभामुखको मत निर्णायक हुने छ ।







