विपक्षी गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा सोमबार बसेको बैठकले देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने निर्णय गरेको हो ।
उनीहरूले सर्वोच्चको फैसलाले संवैधानिक सर्वोच्च स्थापित गरेको भन्दै अदालतलाई धन्यवाद ज्ञापन पनि गरेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सर्वोच्चको फैसलाको स्वागत गर्दै देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय भएको बताए ।
‘बैठकमा पाँचै जना नेताहरूले सर्वोच्चको फैसलाको स्वागत गर्नुभएको छ । देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयत्न गर्ने उहाँहरूको भनाइ छ,’ उनले भने ।
देउवा नेतृत्वको मन्त्रिपरिषद् सुरुमा सानो आकारको बनाउने र पछि सबैको सहभागितामा थप्दै जाने निर्णय भएको खाँडले भने । बैठकपछि कुरा गर्दै माओवादी केन्द्रका नेता देव गुरुङले पनि सर्वोच्चको फैसलालाई स्वागत गर्दै देउवा नेतृत्वको सरकारलाई सहयोग गर्दै निर्वाचनसम्मै विपक्षी गठबन्धनको सहकार्यलाई मजबुद बनाउने विषयमा छलफल भएको बताए ।








