गृहपृष्ठ खबर देउवाले बूढानिलकण्ठस्थित आफ्नो घरमा बोलाए कांग्रेस पदाधिकारीको बैठक

देउवाले बूढानिलकण्ठस्थित आफ्नो घरमा बोलाए कांग्रेस पदाधिकारीको बैठक

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानिलकण्ठस्थित आफ्नो निजी निवासमा बस्ने गरी पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । आज बिहान बस्ने गरी बैठक बोलाइएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र अनसन दिइरहेकाले देउवाले बूढानिलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको महाधिवेशन एवं मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल हुने छ ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा नपुगेको भन्दै साउन १२ गतेदेखि सुरु हुन लागेको अधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गरेको थियो । बैठकले केन्द्रीय महाधिवेशनको कार्यतालिकाका बारेमा भने केही बोलेको छैन ।

शनिबारकै बैठकमा क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन साउन १२ गते अर्थात आजसम्म पार्टी सभापति देउवालाई हस्तान्तरण गर्ने जानकारी दिएको थियो । पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यता टुङ्गो नलागेकाले कांग्रेसले तल्लो तहको अधिवेशनको मिति तत्काल तोक्न सकेको छैन ।

क्रियाशील सदस्यता टुङ्गो लागेपछि महाधिवेशनको नयाँ मितिबारे पदाधिकारी बैठकमा छलफल गरेर केन्द्रीय कार्यसमितिको बैठकमा अनुमोदनका लागि पठाइनेछ ।

सम्बन्धित् समाचार