गृहपृष्ठ Featured कृषि अनुदानमा बेथिति : ३० वर्षअघि मरेका मान्छेका नाममा समेत अनुदान रकम सिफारिस

कृषि अनुदानमा बेथिति : ३० वर्षअघि मरेका मान्छेका नाममा समेत अनुदान रकम सिफारिस

प्रकाशित मिति:

लुम्बिनी सांस्कृतिक नगरपालिका– २, लम्तिहवाका मोती मल्लाहको ३० वर्षअघि नै मृत्यु भयो । उनका छोरा राजु मल्लाह अहिले ६० वर्षका भए । तर, वडा नं. २ को वडा कार्यालयले कृषिमा दिएको अनुदानमा मोती मल्लाहको नाम छ । ६ कट्ठा क्षेत्रफलमा खरबुजा, लौका, घिरौँला, भण्टा लगाउन अनुदान दिएको उल्लेख छ ।

३० वर्षअघि नै मरेका बुबाको नाममा अनुदान रकम सिफारिस भएपछि छोरा राजु मल्लाह अचम्मित छन् । ‘मेरा बुबाको नाममा समेत अनुदान रकम सिफारिस भएको देखेँ । तर, मलाई केही थाहा छैन,’ उनले भने ।

यस्तै, भरथापुरककै दाजुभाइ भदई मल्लाह र साधुसरन मल्लाहले पनि वडाको सिफारिसमा २०/२० हजार रुपैयाँ अनुदान रकम बुझेका छन् । तरकारी खेती गरेको भन्दै साधुलाई अनुदान रकम दिएको भए पनि उनले तरकारी खेती नै गरेका छैनन् । उनका दाइ भदई मल्लाहले भने तरकारी खेती गर्छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका– २, लम्तिहवाकै रामबकस लोध र अशोक लोधले पनि व्यावसायिक तरकारी खेती गरेको भन्दै २०/२० हजार अनुदान बुझेका छन् । उनीहरू नाताले बाबुछोरा हुन् । वडाले गरेको सिफारिसमा रामबकसले १० कट्ठामा परबल खेती र अशोकले ६ कट्ठामा परबल, काँक्रा, करेला र प्याजको व्यावसायिक खेती गरेको भनिएको छ । तर, एउटै परिवारमा अनुदान रकम दिने कानुनी प्रावधान नभए पनि यी बाबुछोरालाई अनुदान रकम वडाको सिफारिसमा दिइएको छ ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा खेती नै नगरेकालाई अनुदान रकम बाँडेको पाइएको छ । नगरपालिकाको वडा नं. २ मा मात्रै आठ जना गैरकिसानलाई व्यावसायिक तरकारी खेती गरेको भन्दै अनुदान रकम प्रदान गरिएको छ । स्थानीय मनोज मल्लाहले वडाध्यक्ष रमेशप्रसाद निषाद र कृषि शाखाका कर्मचारीको मिलेमतोमा अनुदान रकम खेतीपाती नै नगरेकालाई दिएको आरोप लगाए ।

वडा अध्यक्ष रमेशप्रसाद निषाद भने गैरकिसानले अनुदान रकम नपाएको बताउँछन् । ‘ज–जसले खेती गरेका छन्, उनीहरूले अनुदान रकम पाएका छन् । गैरकिसान कसैले पनि अनुदान पाएका छैनन्,’ उनले भने ।

नगरपालिकाले भने केही ठाउँमा रकम दुरुपयोग गरिएको भन्दै यथार्थ बुझेर अनियमितता गर्नेलाई कारबाही गरिने बताएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले कुनै वडामा अनुदानको रकम दुरुपयोग भएको गुनासो स्थानीय व्यक्तिहरूबाट आएको भन्दै अनुगमन गरी अनियमितता भेटिएमा कारबाही गरिने बताए ।

कोरोना विशेष कृषि कार्यक्रमअन्तर्गत ‘एक स्थानीय तह एक उत्पादन’ कार्यक्रममार्फत लुम्बिनी प्रदेश सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई १७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । मापदण्डमा कम्तीमा तीन कट्ठामा तरकारी खेती गर्ने किसानलाई २० हजार रुपैयाँका दरले अनुदान दिने प्रावधान राखिएको छ । जसअनुसार नगरपालिकाले २०७७ चैत १२ मा सूचना प्रकाशित गरी अनुदान माग गरेका ६९ जना किसानलाई अनुदान रकम बाँडेको थियो ।

सम्बन्धित् समाचार