गृहपृष्ठ Featured इराकस्थित अमेरिकी दूतावासनजिकै रकेट आक्रमण

इराकस्थित अमेरिकी दूतावासनजिकै रकेट आक्रमण

प्रकाशित मिति:

बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावासनजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ ।  रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् ।

इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमी सोमबार ह्वाइट हाउसको वार्तापछि वाशिङ्टनबाट स्वदेश फर्किनसक्दै इराकमा उक्त आक्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई  इराकबाट फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । उनले अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् ।

इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएका हुन् । इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन् ।

इराकमा अमेरिकी नागरिक संघसंस्थालक्षित आक्रमणहरू लगभग दैनिक रूपमा हुने गरेका स्थानीय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न सहयोग गरिरहेका छन् ।

सम्बन्धित् समाचार