गृहपृष्ठ खबर लुम्बिनी प्रदेशमा सांसद अपहरण हुने डर : सांसदहरु राजापानी रिसोर्टमा

लुम्बिनी प्रदेशमा सांसद अपहरण हुने डर : सांसदहरु राजापानी रिसोर्टमा

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री फेर्ने चटारो छ। विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगे राजनीतिक दाउपेच तिब्र भएको छ।

यसबिच लुम्बिनीका नेकपा माओवादी केन्द्रका सांसदहरु एक रिसोर्टमा जम्मा भएका छन्। अविश्वासको प्रस्ताव दर्ता भएसँगै सांसदहरु अपहरणमा पर्न सक्ने भन्दै माओवादी केन्द्र र बुटवल पश्चिमका विपक्षी गठबन्धनका सांसदलाई रिसोर्टमा राखिएको हो।

प्रदेशसभा सांसदहरुलाई कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा राखिएको छ।

यही साउन २७ गते प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले आगामी रणनीति बनाउन पनि सांसदहरुलाई रिसोर्ट भेला भएका हुन्।

सत्तापक्षले सांसदलाई फकाएर आफ्नो पक्षमा पार्न सक्ने आंकलन गर्दै गठबन्धनले सम्पूर्ण सांसदलाई रिसोर्टमा लगेको स्रोतले जनाएको छ। केही हप्ताअघि जसपा सांसद पुर्मती ढेंगा सम्पर्कविहीन भएकी थिइन् भने माओवादी केन्द्रकी सांसद विमला वली हप्ता दिन सम्पर्कविहीन थिइन्। वलीले मुख्यमन्त्री शंकर पोखरेल निवासमा आफूलाई ‘बन्धक’ बनाएर राखेको दाबी गरेकी थिइन्।

बुधबार प्रदेशसभाको बैठक सुरु हुने भएकाले छलफलका लागि राजापानी रिसोर्टमा सांसद बस्दा सुरक्षित हुने र नयाँ रणनीति पनि बनाउन सहज हुने एक नेताले बताएका छन्। शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने निश्चित भएकोले आफहरु जम्मा भएको उनले बताए।

लुम्बिनीका विपक्षी गठबन्धनका ४ दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टि र जनमोर्चाले माओवादी संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन्।

सर्वोच्चले जसपाका तीन सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन्। २७ साउनमा विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले रिसोर्टमा लगिएको भए पनि सत्तापक्ष दल नेकपा एमाले भने विपक्षी गठबन्धनका कम्तीमा दुई जना सांसद आफ्नो पक्षमा तान्न लागि परेको बताइएको छ।

सम्बन्धित् समाचार