इन्टर मिलानले ३३ खेलबाट ८६ अङ्क बनाउँदा एसी मिलानको समान खेलबाट ६९ अङ्क रहेको छ । ५ खेल बाँकी हुँदा १७ अङ्कको अग्रता लिएपछि इन्टरलाई उपाधि जित्न सहज भएको हो । अब बाँकी सबै ५ खेलमा इन्टर पराजित हुँदा पनि उपाधि उसकै हुने छ ।
सोमबार राति एसी मिलानविरुद्ध जित दिलाउन इन्टरका फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले एक गोल गरेका थिए । एसी मिलानका लागि फिकायो तोमारीले सान्त्वना गोल गरे ।
१८ ओं मिनेटमा बेन्जामिन पाभार्डको सहयोगमा एसर्वीले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको इन्टर मिलानले दोस्रो हाफमा एक गोल थप्दा अर्को गोल भने बेहोरे पनि नतिजा उसकै पक्षमा गएको थियो । ४९ औँ मिनेटमा थुरामले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । ८० औँ मिनेटमा तोमारीले गोल फर्काउँदै एसी मिलानको अग्रता कम गरे पनि अन्ततः इन्टर मिलान नै २–१ गोल अन्तरले विजयी भयो ।
अन्तिम केही मिनेट भने तीन खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । जसमा एसी मिलानका दुई र इन्टर मिलानका एक खेलाडी रहे । एसी मिलानका थियो हर्नान्डेज र इन्टरका डेन्जेल डम्फ्रिजले एकै साथ रातो कार्ड पाएका थिए । उनीहरूले झगडा गरेपछि रातो कार्ड पाएका हुन् । यस्तै, इन्ज्योरी समयको सातौँ मिनेटमा एसी मिलानका डेभिड क्यालाब्रिजले पनि रातो कार्ड पाउँदा ९ खेलाडीमा समेटिएको थियो ।