अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।
मेसी दुई वर्षका लागि पीएसजीमा अनुबन्धित भएका हुन् । तर, पीएसजी र मेसीबीच औपचारिक सम्झौतामा हस्ताक्षर भने हुन बाँकी रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार मेसी सम्झौतामा हस्ताक्षर गर्न मंगलबार नै पेरिस पुग्दै छन् ।
आइतबार बार्सिलोना छोडेपछि पीएसजीले मेसीसँग दुई वर्षको प्रस्ताव गरेको थियो । पीएसजीको त्यो प्रस्ताव ३४ वर्षीय मेसीले स्वीकार गरेका हुन् । पीएसजीमा मेसीले प्रतिवर्ष ३५ मिलियन युरो पारिश्रमिक पाउनेछन् ।
यसअघि आइतबार मेसीले २१ वर्षपछि बार्सिलोना छोडेका थिए । आर्थिक र संरचनागत समस्याका कारण बार्सिलोनाले मेसीलाई क्लबमा राख्न नसकिएको बताएको थियो ।
सन् २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका मेसीले बार्सिलोनाको सिनियर टोलीमा १७ वर्ष बिताएका थिए । बार्सिलोनाको आफ्नो करियरमा मेसीले १० ला लिगा र चार च्याम्पियन्स लिगसहित ३४ वटा उपाधि जितेका छन् ।
बार्सिलोनाबाट ७ सय ७८ खेल खेलेका मेसीले ६ सय ७२ गोल गरेका थिए । बार्सिलोनाबाटै मेसी सर्वाधिक ६ पटक बालोन बालोन डि’ अर अवार्ड जितेका थिए ।