नेपालमा थप २,६२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख पाँच हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,२५९ पुगेको छ।
२१ देखि ३० वर्ष उमेर समूहका सबभन्दा बढी सङ्ख्यामा सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,५७३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ४,९०६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।