गृहपृष्ठ खबर कक्षा १२ को परीक्षा भौतिक रूपमा लिने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

कक्षा १२ को परीक्षा भौतिक रूपमा लिने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

काठमाडौं : संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देशन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ ।

समितिले टयूसन फि मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरूले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित् समाचार