बुटवल : लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री बनाए पनि त्यसपछि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।
विश्वासको मत लिएर सरकार विस्तार गर्ने भनेका उनले भदौ ७ गते विश्वासको मत लिएको पनि एक साता पुगिसक्यो । गठबन्धनभित्रै मन्त्रीको संख्या र मन्त्रालय नटुंगिदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । अब विस्तार हुने मन्त्रिपरिषदमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन÷तीनजना मन्त्री र एक–एकजना राज्यमन्त्री नियुक्त गर्ने गठवन्धनका दुई दलबीच सहमति भइसकेको छ । तर दुवै पार्टीमा आकांक्षी धेरै जना हुँदा मन्त्री छान्न सकस भएको छ ।
मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको संख्या पनि थप गर्ने तयारी छ । शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्रिपरिषद् ११ सदस्यीय थियो । तर अहिले गठवन्धनलाई भाग पु¥याउन मन्त्रिपरिषद् १५ सदस्यीय पु¥याइँदैछ ।







