गृहपृष्ठ Featured लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै कोलम्बो–काठमाण्डौ सिधा उडान

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै कोलम्बो–काठमाण्डौ सिधा उडान

श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्सले आज मङ्गलवारदेखि काठमाण्डौ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै उडान सुरु गर्न लागिएको हो ।

श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ–कोलम्बो उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ ।

प्राधिकरणका अनुसार आज बिहान ९ बजेर ४० मिनेटमा श्रीलङ्कन एअरको पहिलो उडान श्रीलङ्काबाट काठमाण्डौ आइपुग्नेछ । १ सय ४० जना यात्रु लिएर आउनेछ ।

एअरलाइन्सले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या हप्तामा भन्ने यकिन भइसकेको छैन ।

नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ । यस्तै भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतलाई पनि सजिलो हुने विश्वास गरिएको छ ।

श्रीलङ्काको कुल जनसङ्ख्याको ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकमा श्रीलङ्का प्रमुख पाँच देशभित्र पर्छ । अहिले श्रीलङ्कन एअरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एअरलाइन्सले आउँदो सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

सम्बन्धित् समाचार