अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधबार ज्ञानकुञ्ज एजुकेसन फाउन्डेशन प्रा।लि। भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागिपरे मात्र देशले कोल्टो फेर्ने बताए ।
उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे ।
अबको एक दशक नेपाल राष्ट्रका लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरूलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए । उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए ।








