काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता अनुमोदन गर्न चासो बढाइरहेको पृष्ठभूमिमा सरकारले संघीय संसद्को बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक भदौ २३ गते अपरान्ह ४ बजे बस्ने गरी बोलाएकी हुन् ।
एमसीसी सम्झौता भएको ४ वर्ष पुग्ने दिन भदौ २९ भित्रै अनुमोदन गराउन अधिवेशन बोलाइएको सरकारी अधिकारीहरुले बताएका छन् । सरकारले पारित गराउनुपर्ने १५ अध्यादेश पनि छन्, सबैभन्दा महत्वपूर्ण बजेट अध्यादेश नै पारित हुन बाँकी छ ।
बजेटसहितका अध्यादेशमा छलफल गराउने भनिए पनि सरकारको मुख्य चासो एमसीसीमै छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सदनमा रोकिएका अध्यादेश र खासगरी बजेटको विषय संसदको मुख्य एजेन्डा रहेको बताए ।
संसद्मा १५ अध्यादेश छन् । समितिमा छलफल भइरहेका अरु विधेयक पनि छन् । तिनलाई सहमतिका आधारमा अघि बढाउनुपर्नेछ, उनले भने, अबको प्रतिनिधिसभा बैठकलाई प्रशसस्त बिजनेस दिने तयारीम सरकार छ ।








