गृहपृष्ठ खबर जापानका प्रधानमन्त्री सुगा आफ्नो पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री सुगा आफ्नो पार्टीको निर्वाचनमा मौन रहने

एजेन्सी : जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन्। नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन्।

सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी ९एलडिपी० को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ। उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ।

उनले पूर्व विदेश मामिला र पूर्व रक्षामन्त्री तारो कोनोले पार्टी अध्यक्षका लागि उम्मेदवार घोषणा गर्न लागेकै दिन आफू कसैको पक्षमा नउभिने स्पष्ट पारेको बताए। उनले अघिल्लो साता पार्टी अध्यक्षका लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए। सरकारमा रहेर कोभिड महामारीविरुद्ध प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएपछि उनले प्रधानमन्त्रीको जिम्मेवारी समेत त्याग्ने गरी पार्टीको नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

उनले पार्टी नेतृत्वका लागि उम्मेदवारी नदिने भएपछि नयाँ आउने पार्टी अध्यक्षलाई नै प्रधानमन्त्री पदको जिम्मेवारी दिइने भएको छ। जापानमा प्राय सत्तारुढ दलको अध्यक्ष नै प्रधानमन्त्री हुने गरेको जनाइएको छ। प्रधानमन्त्री सुगा एकवर्ष अगाडि तत्कालीन प्रधानमन्त्री सिञ्जे आवेले आकस्मिक रूपमा राजीनामा दिएपछि प्रधानमन्त्रीमा निर्वाचितभएका थिए।

सम्बन्धित् समाचार